चीनले कैलाश मानसरोवर जान भारततर्फका नाका खोलेन, नेपालतर्फ मात्रै खोल्यो, व्यवसायी खुशी

Advertisement

काठमाडौं । तीन वर्षदेखि बन्द रहेको तिब्बतको कैलाश मानसरोवर यात्रा आउँदो चैत १८ (अप्रिल १)बाट खुल्ला गरिने भएको छ । 

एशोसियशन अफ कैलाश टुर अपरेटर्सका अध्यक्ष तेन्जिन नोर्बु लामाले चीनबाट अप्रिल १ देखि मानसरोवर यात्रा खुल्ला गर्ने निर्णय भएको जानकारी प्राप्त भएको बताए । चाइना फरेन एक्सचेन्ज अफिसबाट यस्तो सूचना आएको उनले बताए । 

Advertisement

लामाले भने, ‘अब चीनतर्फ खोल्ने नाकाहरु भनेको तीन वटा हो । रसुवाको केरुङ, हुम्लाको सिमिकोट–हिल्सा र हवाईमार्गबाट जानलाई लास्सा खोल्ने हो ।’ मानसरोवर जाँदा काठमाडौं–रसुवा सडक यातायातबाट, काठमाडौं–नेपालगञ्ज–सिमिकोट जहाजबाट र सिमिकोट–हिल्सा हेलिकप्टरबाट यात्रा गर्ने गरिन्छ । यसलाई कैलाश मानसरोवर हेलिकप्टर टुर पनि भनिने लामाले बताए । काठमाडौं–लास्सा गाडीबाट पनि कैलाश मानसरोवर यात्रा गराउने उनको भनाइ छ ।  

चीनले मानसरोवर जान भारततर्फको कुनै पनि नाका नखोली नेपालतर्फको मात्रै खोलिदिएको हो । भारततर्फको नाकाहरु नखोली नेपालतर्फ यी तीन वटा नाका खोल्दा नेपालको धार्मिक पर्यटन प्रवर्द्धनमा ठूलो मद्दत पुग्ने लामाले बताए । मानसरोवर यात्रा गराउने कम्पनीहरुलाई बुकिङ सुरु गर्न समेत उनले आग्रह गरे । 

विगतमा नेपालबाट वार्षिक २० देखि २४ हजारसम्म पर्यटक पवित्र धार्मिक स्थल कैलाश मानसरोवर यात्रामा जाने गरेका थिए । तीर्थहरुको पनि तीर्थ अर्थात् महातीर्थका रुपमा चिनिने कैलाश मानसरोवर जान भारतले नेपाली भूमि अतिक्रमण गरी सडक बनाइरहेको समाचार आइरहँदा चिनियाँ पक्षले  कोभिड महामारीलाई देखाउँदै सीमा नाका बन्द गरेको थियो । 

तिब्बतको नाका खोल्ने निर्णयले व्यवसायी र पर्यटकहरुमा नयाँ उत्साह बढेको बताउँदै व्यवसायी लामाले कैलाश यात्रामा जानका लागि बुकिङहरु पनि आउन थालेको बताए । नेपाल माउन्ट कैलाश मानसरोवर जाने प्रवेशद्धार हो । कैलाश यात्रामा जाने धार्मिक पर्यटकहरुले पशुपतिनाथ र मुक्तिनाथ दर्शन गर्ने भएकाले नेपालमा पर्यटक आगमनमा पनि वृद्धि हुन्छ भन्ने व्यवसायीहरु बताउँछन् ।  

कैलाश यात्रालाई ‘ब्रह्माण्डको केन्द्रमा आध्यात्मिक यात्रा’को रुपमा हेरिन्छ । माउन्ट कैलाश छ हजार ७१४ मिटर उचाइमा रहेको छ । निकै ठूलो शक्ति रहेको मानिने यस पहाडमा भगवान शिव पार्वतीको वास हुने धार्मिक विश्वास छ । 

Advertisement

Advertisement