संदीपको पुनरागमनसँगै नेपाली क्रिकेट टिमलाई लगातार सफलता, आज पनि रोमाञ्चक जित

Advertisement

काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टू च्याम्पियन स्कटल्याण्डमाथि २ विकेटको रोमाञ्चक जित हात पारेको छ । यस पटक घरेलु मैदानमा भएको सिरिजमा नेपालले क्लिन स्विप गरेको हो । 

क्याप्टेनसमेत रहेका संदीप लामिछानेमाथि बलात्कारको आरोप लागेर उनी पुर्पक्षका लागि थुनामा बस्दा नेपाली क्रिकेट टिमले खेलहरुमा अपेक्षाकृत सफलता हासिल गर्न सकेको थिएन् । लामिछानको पुनरागमनसँगै अहिले नेपाललाई भाग्यले साथ दिएको छ । 

Advertisement


कीर्तिपुरस्थित खेलमैदानमा मंगलबार भएको खेलमा कप्तान रोहितकुमार पौडेल र करण केसीले नवौं विकेटका लागि कीर्तिमानी साझेदारी गरेर जित निकाल्न सफल भएको हो । नेपालले पहिलो पटक सिरिजको चार वटै खेल जित्न सफल भएको हो । 

स्कटल्याण्डलाई २१२ मा अलआउट गरेको नेपाल सुरुवातदेखि नै दबाबमा परेको थियो । धेरैले आशा मारिसकेको खेलमा नेपाली खेलाडीले नाटकीय प्रदर्शन गर्दै जित निकाल्न सफल भए । आजको खेलमा १३८ रन बनाउँदा नेपालले ८ विकेट गुमाइसकेको थियो । तर दबावका बीच कप्तानी पारी खेलिरहेका रोहितलाई करण केसीले बलियो साथ दिएपछि नेपालले २१३ रनको लक्ष्य ४४.१ ओभरमा ८ विकेट गुमाएर पूरा गर्न सफल भयो । 

रोहितले अविजित ९५ रन बनाए  भने उनीसँग साझेदारी गरेका करणले ३१ रन बनाए । उनीहरुभन्दा अगाडि कुशल भुर्तेल १ रनमा आउट भएका थिए भने आसिफ शेख १२ रन बनाएर आउट भएका थिए । त्यस्तै, ज्ञानेन्द्र मल्ल २१ रन र कुशल मल्ल १७ रन र सन्दिप जोरा १ रनमा आउट भएका थिए । कप्तान रोहित पौडेल र दीपेन्द्र सिंह ऐरीले ४२ रनको साझेदारी गरे पनि दीपेन्द्र ७ रन र सोमपाल कामी २ रन बनाएर आउट भएका थिए ।

स्कटल्याण्डका लागि मार्क वाटले ३ तथा क्रिस भ्रिग्सले २ विकेट लिए । ब्रान्डन म्याकुलेन, सफ्यान शरिफ र माइकल लिस्कले १–१ विकेट लिए ।

पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ४६.१ ओभरमा सबै दश विकेट गुमाएर २१२ रन बनाएको थियो । नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए । करण केसीले ३ तथा ललित राजवंशी र कुशल मल्लले समान १ विकेट लिएका थिए ।

Advertisement

Advertisement