विश्व अर्थतन्त्रमा आएको मन्दीले नेपाली शेयर बजार पनि प्रभावितः सीईओ कार्की

Advertisement

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्कीले विश्व अर्थतन्त्रमा आएको मन्दीका कारण नेपाली शेयर बजार पनि प्रभावित भएको बताएका छन् ।

पूँजी बजारको विषयमा रिपोर्टिङ गर्दै आएका आर्थिक पत्रकारलाई क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको २ दिने प्रशिक्षण कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै सीईओ कार्कीले उक्त कुरा बताएका हुन् । 

Advertisement

‘अहिले शेयर बजारको परिसूचक किन घटिरहेको छ भनेर प्रश्न आइरहेको छ । यस मामलामा देश भित्रको अवस्था हेरेर मात्रै हुँदैन,’ उनले भने, ‘कोरोना महामारी, रुस–युक्रेन युद्ध लगायतका कारण विश्व अर्थतन्त्र समस्याग्रस्त भएको छ । त्यसको असरले नेपाली अर्थतन्त्र पनि प्रभावित भएको छ । फलस्वरुप सेयर बजारको परिसूचक घटेको छ ।’ यसैगरी नेप्सले आगामी दिनमा नाफिजसँगको सहकार्य अझै दरिलो र सुदृढ बनाउने पनि बताए ।

यस्तै, सीडीएस एण्ड क्लियरिङका सीईओ पूर्णप्रसाद आचार्यले पूँजी बजारका लागि केन्द्रीकृत ग्राहक पहिचान विवरण (सेन्ट्रल केवाईसी) लागू गर्ने तयारी भइरहेको बताए । ‘लगानीकर्तालाई धेरै ठाउँमा केवाईसी भर्नुपर्दा झन्झट भइरहेको छ । 

साथै, खर्च पनि उत्तिकै मात्रामा भएको छ,’ उनले भने, ‘सोही अवस्थालाई दृष्टिगत गर्दै पुँजी बजार भित्रको कुनै एक निकायमा केवाईसी भरेपछि, अर्काे ठाउँमा केवाईसी भर्न नपर्ने गरि नयाँ प्रविधि ल्याउने तयारी गरीरहेका छांै,’ उनले भने, ‘नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएपछि यो लागू हुनेछ ।’ उनले अक्सन मार्केट सञ्चालन गर्न कार्यविधि बनाएर नेपाल धितोपत्र बोर्डमा स्वीकृतिको लागि पेश गरेको पनि जानकारी दिए ।

‘अक्सन मार्केट कार्यविधि सञ्चालन सम्बन्धी धितोपत्र बोर्डमा पेश गरेपनि स्वीकृति हुन ढिलाई भएको हो । त्यसैले यसमा केही गाह्रो पनि भएको छ,’ उनले भने, ‘उक्त कार्यविधि स्वीकृत भएर आएपछि अक्सन मार्केट पनि सञ्चालन हुनेछ ।’

यस्तै, पूँजीबजारमा गर्नुपर्ने काम अझै पनि धेरै रहेको उनले बताए । साथै, सम्भावना पनि उत्तिकै मात्रामा रहेको उनको भनाइ छ । ‘पूँजी बजारमा नयाँ नयाँ आयम ल्याउने विषयमा सम्भावना धेरै छ । हामीले गर्न पनि खोजेको छौं । तर, विभिन्न चुनौती आइरहेको छ,’ उनले भने, ‘तसर्थ, यसमा मिडियाबाट पनि सहयोगको अपेक्षा गरेका छौं ।’

त्यस्तै स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका अध्यक्ष धर्मराज सापकोटाले सेटलमेन्ट ग्यारेन्टी फन्ड नहुँदा पनि ब्रोकर कम्पनीहरुले लगानीकर्ताको भुक्तानी समयमा गर्दै आएको बताए ।

‘नेपालको पुँजी बजारको इतिहासमा एकैदिन २२ अर्ब रुपैयाँसम्मको सेयर कारोबार हुदाँ पनि ब्रोकर कम्पनीहरुले सहज रुपमा समयमै राफसाफ गरेका थिए । तर, अहिले ब्रोकर कम्पनीले भुक्तानी दिँदैनन् भनेर विभिन्न आक्षेप पनि लाग्ने गरेको छ,’ उनले भने, ‘सेटलमेन्ट ग्यारेन्टी फण्ड नहुदाँ समेत ब्रोकरले भुक्तानीमा ढिलाई गरेका छैनन्, यो बुझ्न आवश्यक छ । विदेशमा कतिपय ब्रोकर कम्पनीहरु राफसाफ नगरेर भागेको इतिहास छ । तर, नेपालीको हक आजसम्म प्राविधिक कारणले बाहेक कुनै पनि सेयर कारोबारको राफसाफ नभएको इतिहास छैन ।’ यसैगरी सेटलमेन्ट ग्यारेन्टी फन्ड र अक्सन मार्केट नहुदाँ ब्रोकरहरु मारमा परेको  उनको भनाइ छ ।

नाफिजले नेपाल स्टक एक्सचेन्ज (नेप्से), सीडीएस एन्ड क्लियरिङ र स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालसँगको सहकार्यमा शुक्रबारदेखि काभ्रे पनौतीस्थित डाइमन्ड हिल रिसार्टमा आयोजना गरेको कार्यक्रम शनिबार सम्पन्न भएको हो ।

शुक्रबार ‘धितोपत्र बजार सञ्चालकको भुमिका, नेप्से, लगानीकर्ता, ब्रोकर, सुचिकृत कम्पनीको सम्बन्ध, धितोपत्र औजार (शेयर, ऋणपत्र, डेरिभेटीभ्स), इन्ट्रा डे ट्रेडिङ,  सेटलमेन्ट ग्यारेन्टी फन्ड, अक्सन मार्केट, सेयर बजार इन्डेक्स, नेप्से ५० इन्डेक्स फन्ड’ विषयमा नेप्सेका प्रबन्धक निरञ्जन फुयाँलले प्रशिक्षण दिएका थिए ।

यसैगरी शनिबार ‘केन्द्रीय निक्षेप तथा राफसाफ सेवा विद्यमान अवस्था, सम्भावना र चुनौतीको विषयमा पत्रकारलाई प्रशिक्षण दिइएको छ, उक्त सत्रलाई सीडीएस एन्ड क्लियरिङका सहायक प्रबन्धक योगराज जोशीले प्रशिक्षण दिएका थिए ।

त्यस्तै स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका उपाध्यक्ष सरिता अधिकारीले ‘धितोपत्र व्यवसाय, बिक्री प्रबन्धक, प्रत्याभुतिकर्ता, सिमित र पुर्ण कार्य गर्ने ब्रोकर, स्टक डिलर, लगानी व्यवस्थापन, सामूहिक लगानी योजना, वैकल्पिक लगानी कोष, धितोपत्र व्यवसायको चुनौती’ को विषयमा प्रशिक्षण दिएकी थिइन् । 

यस्तै नेप्सेका सहायक प्रबन्धक मुराहरी पराजुलीले ‘स्टक मार्केट रिपोर्टिङः सेयर बजारको समाचार लेख्दा ध्यान दिनुपर्ने कुराहरु’ विषयमा प्रशिक्षण दिएका थिए । 
 

Advertisement

Advertisement