हिमालय ट्राभल मार्टको चौथो संस्करण जेठ २३ गतेदेखि काठमाडौंमा

Advertisement

काठमाडौं । प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरद्धारा हिमालय ट्राभल मार्टको चौथौ संस्करण यहि जेठ २३ गतेदेखि २६ सम्म काठमाडौंमा आयोजना गरिने भएको छ । 

पाटा नेपाल च्याप्टरले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको स्वामित्वमा रहेको नेपाल पर्यटन बोर्ड, नेपाल वायु सेवा निगम, पाटा अन्तराष्ट्रिय एवम् पर्यटन क्षेत्रका विभिन्न संघ–संस्थाहरुको सहकार्यमा आयोजना उक्त मार्ट गर्न लागेको हो । 

Advertisement

सन् २०१७ देखि २०१९ सम्म वार्षिक रुपमा हिमालयन ट्राभल मार्ट आयोजना हुँदै आएको थियो । तर कोरोना महामारीका कारण २०१९ पश्चात आयोजना हुन नसकेको पाटा नेपाल च्याप्टरले जानकारी दिए । 

पाटा नेपाल च्याप्टरका अध्यक्ष विभूति चन्द ठाकुरले हिमालयन ट्राभल मार्ट २०२३ मा सहभागी हुन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिनिधिहरूलाई मार्टमा सहभागी भई पर्यटन व्यवसायलाई पुनरुत्थान गर्न र महामारीपछि नेपालको पर्यटन पुनरुत्थान अभियानमा सहयोग गर्न बताए । उनले भने, ‘कोभिडले विश्वव्यापीरुपमा यात्रा र पर्यटन उद्योगमा नराम्रो असर पारेको छ । नेपाल पनि यसमा अपवाद रहेन । यद्यपि, पर्यटन क्षेत्र क्रमशः लयमै फर्किरहँदा हिमालयन ट्राभल मार्टको आयोजनाले नेपाल लगायत समग्र हिमालयन क्षेत्रकै पर्यटन पुनरुत्थान र प्रवर्धन पहलहरूलाई सहयोग पुर्याउने तथा महत्त्वपूर्ण अवसर प्रदान गर्ने विश्वाश लिएका छौं ।’

त्यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुधन किराँतीले विश्वभरबाट आउने पर्यटकहरुलाई निमन्त्रणाका साथै शुभकामना सन्देश दिएका छन् । 

देशकै प्रमुख अन्तर्राष्ट्रिय ट्राभल ट्रेड मेलाको रुपमा स्थापित हिमालयन ट्राभल मार्टमा नेपाल, भारत, पाकिस्थान, चीन (तिब्बत), भुटान र म्यानमार जस्ता हिमालयन राष्ट्रहरुबाट विक्रेताहरु तथा युरोप, अमेरिका, अष्टे«लिया, न्यूजिल्याड, एशिया, सिआईएस राष्ट्रहरु र अरब राष्ट्रका विश्वव्यापी क्रेताहरुलाई एउटा मञ्चमा भेला गराई उनीहरुबीच व्यापार आदान–प्रदान तथा सम्बन्ध संञ्जाल विस्तार, ज्ञान तथा सिप आदान–प्रदान गरिने कार्यक्रम रहेको पाटा नेपाल च्याप्टरले जनाएको छ ।  

नेपाललाई विश्वसामु हिमालय प्रवेशको द्वार, साहसिक पर्यटनको केन्द्र तथा सबल पर्यटन मैत्री गन्तब्यको बलियो ब्रान्डका रुपमा स्थापित गर्ने मुख्य उद्देश्यका साथ आयोजना हुने हिमालयन ट्राभल मार्ट नेपालको पर्यटन प्रवर्द्धनका लागि कोसेढुङ्गा बन्ने विश्वास लिइएको छ । 

Advertisement

Advertisement