शान्ता दिदीले बनाएको अचार नखाने ?

Advertisement

काठमाडौं । महिला उद्यमी शान्ता केसी विगत आठ वर्षदेखि अचार उत्पादनका क्षेत्रमा सक्रिय छन् । उनको स्वादिष्ट अचार स्वेदशमा मात्रै नभएर विदेशमा समेत पुग्ने गरेको छ । 

केसीले ‘शान्ता दिदीको अचार’ नाम दिएर आफ्नो उत्पादनको ब्राण्डिङ गर्दै आएकी छन् । पाँच लाख रुपियाँ लगानी गरेर अचार उद्योग सुरु गरेकी उनले मासिक कम्तिमा ४० देखि ५० हजार रुपियाँ आम्दानी गर्छिन् । ‘खाली समयमा यसै बस्नुभन्दा केही गरौं भनेर अचार बनाउन सुरु गरेकी हुँ’, केसी भन्छिन्, ‘एक महिनामा दुई सयदेखि तीन सय सीसीसम्म अचार बिक्री गर्छु ।’

Advertisement

विभिन्न स्वाद र परिकारका अचार उत्पादन गर्ने उद्यमी शान्ता केसीले एक सीसी अचारको १६० देखि दुई हजार दुई सयसम्ममा बिक्री गर्छिन । उनी भन्छिन्, ‘मैले बनाएको अचार नमिठो रैछ, गुणस्तरहीन रैछ भनेर कसैले गुनासो गर्ने अवस्था नआओस् । सावधानी अपनाएर स्वस्थकर अचार बनाएर बिक्री गर्न प्रयास गर्दै आएको छु ।’ 

शान्ता केसीले आठ बर्षअघि अचार उद्योग सञ्चालन गर्नुअघि १० दिने तालिम लिइन् । सोही तालिमबाट पाएको ज्ञान र सीपको आधारमा उनी अहिले अचार उत्पादनका क्षेत्रमा पोख्त र अनुभवी बनेकी छन् । त्यति मात्रै होइन्, अहिले केसी विभिन्न पालिका र वडाहरुमा गएर अरु महिलाहरुलाई पनि अचार बनाउने सीपमूलक तालिम दिने गर्छिन् । ‘यसरी तालिम दिँदा अरुले ज्ञान पनि पाउँछन्, मलाई पाँच हजार भत्ता पनि दिन्छन्’, उनी सुनाउँछिन् । 

पछिल्लो समयमा घरायसी उद्योगबाट उत्पादित अचार लोकप्रिय बन्ने गरेको छ । मानिसहरु पेशा, व्यवसाय र जागिरमा बढी व्यस्त हुने क्रम बढेकाले घरमा उनीहरु आफै बचारहरु बनाउन भ्याउँदैनन् । शुद्ध बस्तुहरु प्रयोग गरेर सफा तरिकाले बनाएका अचारहरुले विशेषगरी शहरी क्षेत्रमा बजार पाउने गरेको छ । विदेशमा बस्नेहरुले पनि नेपालबाट अचार मगाएर लैजाने क्रम बढेको बताउँदै अचार उद्यमी केसीले आफूले बनाएरको अचार बेलायत, अमेरिका, जापानसम्म पुग्ने गरेको बताइन् । 

राजधानीको टोखा, धापासीस्थित आफ्नो घरमा अकबरे खुर्सानी, मुला, कागती, अमला, मासु लगायत चिजहरुको अचार बनाउँदै आएकी उनले आफ्नो उत्पादन लोकप्रिय हुँदै जानुमा स्वस्थकर मात्रै नभएर सस्तो र फरक स्वाद पनि भएको दावी गरिन् । 

केसी भन्छिन्, ‘म अचारमा कुनै रसायन र रंग प्रयोग गर्दिन् । घरायसी मरमसला पनि छुट्टै प्रयोग गर्ने गरेको छु ।’ उमारेको मेथी, लसुन, तिते करेलाको अचारमा चिल्लो, पिरो र नुनको मात्रा कम राख्ने हुँदा सुगर र प्रेसरका बिरामीको लागि पनि यो उपयुक्त हुने उनको तर्क छ । केसीले उत्पादन गरेका अचारहरु खुद्रा पसल र ठूलो मार्टहरुमा मात्रै नभएर घरबाटै समेत बिक्री हुने गरेको छ । 

Advertisement

Advertisement