काठमाडौं । एभरेष्ट बैंकल नेपाल पुलिस स्कुलहरुमा अध्ययन गर्ने नेपाल प्रहरीका सन्ततीहरुलाई उत्प्रेरणा स्वरुप जेहेन्दार छात्रवृत्ति प्रदान गर्ने उद्देश्यका साथ नेपाल प्रहरी–एभरेष्ट बैंक छात्रवृत्ती अक्षय कोष स्थापना भएको छ ।
बैंक र नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी कल्याण कोषबीच २५ लाखको ‘नेपाल प्रहरी–एभरेष्ट बैंक अक्षय कोष’ स्थापना गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
उक्त कार्यक्रममा नेपाल प्रहीका प्रहरी महानिरिक्षक धिरजप्रताप सिंह र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृतसुदेश खालिङको उपस्थितिमा नेपाल प्रहरी प्रहरी कल्याण कोषका प्रहरी वरिष्ठ उपरिक्षक केदार ढकाल र बैंकका नायब महाप्रबन्धक केशवराज पौडेलले हस्ताक्षर गरे ।
कार्यक्रमा नेपाल प्रहरीका उच्च पदस्थ अधिकारीहरुका साथै बैंकका तर्फबाट बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख श्री पुष्प राज उप्रेतीको समेत उपस्थिति रहको थियो ।
सो समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृतसुदेश खालिङले उक्त स्थापना गरिएको अक्षय कोषबाट नेपाल प्रहरीका अमर÷सहिद एवम् अशक्त, अवकाश प्राप्त अधिकारीहरुका सन्ततीहरुलाई स्थापित अक्षय कोषले शैक्षिक जिवन उन्नत बनाउने विश्वास व्यक्त गरे ।
पंजाब नेशनल बैंक भारतसंग संयुक्त साझेदार रहेको बैंकले १२४ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६० एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको जनाएको छ ।