साथसाथै र खुम्बु पासाल्हामु गाउँपालिकाबीच पाँच बर्षे साझेदारी

Advertisement

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा अवस्थित खुम्बु क्षेत्रमा जलवायू न्यायका लागि खुम्बु पासाल्हामु​ गाउँपालिकाले नयाँ योजना अघि बढाएको छ । 

आगामी पाँच वर्षका लागि सो पालिका र सामाजिक संस्था साथसाथैबीच रणनीति साझेदारी भएको छ । खुम्जुङमा आयोजित कार्यक्रममा दुवै पक्षबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । 

Advertisement

सोलुखुम्बुको उच्च हिमाली क्षेत्र खुम्बुमा पदयात्रा गर्दै पुगेकी प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरसहितको उपस्थितिमा गाउँपालिकाले नयाँ योजना अघि बढाएको हो । 

सम्झौतापत्रमा गाउँपालकाकी उपाध्यक्ष टासिल्हमु शेर्पा र साथसाथै संस्थाकी अध्यक्ष प्रजिता कार्कीले हस्ताक्षर गरे । गाउँपालिकाले स्थानीय जनतालाई जलवायु न्यायका लागि रणनीतिक काम थाल्नु सकरात्मक भन्दै आफ्नो तहबाट त्यसको कार्यान्वयनका लागि आवश्यक सहजीकरण गर्ने बताएको छ ।

जलवायू परिवर्तनले सर्वोच्च शिखर सगरमाथालगायत हिमालमा हिउँको मात्रा क्रमशः कम हुँदै गएको, त्यसले पर्यटन र कृषि क्षेत्रमा असर पुर्याएपछि गाउँपालिकाले रणनीतिक विकासको कामलाई अघि बढाएको जनाएको छ । सोलुखुम्बुका सांसद मानवीर राईले जलवायू परिवर्तनले यस क्षेत्रमा विविध समस्या देखिएको र त्यसले स्थानीयबासीलाई प्रत्यक्ष प्रभाव पारेको भन्दै जलवायू न्यायका लागि सबै पक्ष एकजुट हुनुपर्ने बताए । 

खुम्बुबासीको समस्या देशकै समस्या हो भन्दै राईले त्यसैले यसको समाधन र पीडितलाई न्याय दिलाउन विभिन्न निकायको सक्रियता र साझेदारी हुनुपर्ने बताए । 

त्यस्तै, गाउँपालिका अध्यक्ष मिङमार छिरि शेर्पाले स्थानीयमा देखिएको समस्या हल गर्न गाउँपालिका तहबाट विभिन्न काम हुँदै आएको जानकारी गराउँदै साथसाथैसँगको साझेदारीले आगामी दिनमा झन् सहज हुने बताउ । शेर्पाले भने, ‘स्थानीय सरकारले वातावरण संरक्षण र पर्यावरणको पक्षमा उल्लेख्य काम गरेको भन्दै सगरमाथा विश्वकै सम्पति रहेकाले यस क्षेत्रको सरंक्षणमा सबैको ध्यान जानुपर्छ ।’

साथसाथैकी अध्यक्ष प्रजिता कार्कीले खुम्बुक्षेत्रको समस्यालाई गहन रुपमा अध्ययन गरी सरकार र अन्तर्राष्टियय मञ्चहरुमा यसबारे ध्यानाकर्षण गरिने बताइन् । साथसाथै संस्थाले जलवायू परिवर्तनले स्थानीय जनजीवन खासगरी महिलामा पारेको असरमा अध्ययन गर्दै आएको उनले बताइन् । 

समझदारीपत्रमा खुम्बु क्षेत्रमा जलवायू परिवर्तनले पारेका असर विषयमा अध्ययन, अनुसन्धान र विकासका कामका साथै जलवायू परिवर्तनले पुर्याएको हानी नोक्सानी, जलवायू न्याय, शिक्षा, स्वास्थ्य, स्थानीय पर्यटन, महिला, बालबालिकासहित जनजीवनमा पारेको असरबारे सहकार्य हुने कुरा उल्लेख छ । 

Advertisement

Advertisement