रेकर्ड बनाउने दौडमा रहेका क्रिस्टिन र एड्रियानाले मनास्लु हिमाल दोस्रो पटक आरोहण गर्दै

Advertisement

काठमाडौं । आरोही क्रिस्टिन हरिला र बेलायती २१ वर्षीया आरोही एड्रियाना ब्राउनलीले विश्वको आठौं अग्लो मनास्लु हिमाल (८,१६३ मिटर) दोस्रो पटक आरोहण गर्न मनास्लु बेस क्याम्प पुगेका छन् ।

नेपाली माउन्टेन गाइड, शेर्पा आरोहीसहित नर्वेकी ३६ वर्षे आरोही क्रिस्टिन र बेलायती एड्रियाना सोमबार आधार शिविर पुगेका सेभेन समिट ट्रेक्सका कार्यकारी निर्देशक तथा पर्वतारोही पासाङ फुर्बा शेर्पाले जानकारी दिए । 

Advertisement

वसन्त सिजनको मनास्लु हिमाल आरोहण गर्न पर्यटन विभागबाट अनुमति लिने यो टोली पहिलो भएको उनको भनाई छ । यसअघि पनि उनीहरु दुई जनाले मनास्लु हिमालको सफलतापूर्वक आरोहण गरिसकेका छन् । अहिले उनीहरु अकोमटाइजको मनास्लु हिमाल आरोहण गर्न लागेका शेर्पाले बताए । 

यसअघि निर्मल पुर्जाको रेकर्ड तोड्न नेपाल आएकी क्रिस्टिन नेपालतर्फबाट चो–ओयु चढ्ने पहिलो प्रयास र दोस्रो प्रयास गरे पनि असफल भएकी थिइन् । आठ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल छ महिनामा आरोहण गर्ने लक्ष्य राखेकी क्रिस्टिनले तीमध्ये १२ वटा हिमाल आरोहण गरिसकेकी छन् । अब उनले चो ओयु र सिसापाङ चढ्न बाँकी छ । तर यी दुई हिमाल आरोहण गर्न चीनतर्फबाट मात्रै सहज हुने गरेको छ ।

त्यस्तै, एड्रियाना विश्वको आठ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल आरोहण गर्ने सबैभन्दा कान्छी पर्वतारोही बन्ने दौडमा छिन् । उनले अहिलेसम्म १० वटा हिमाल आरोहण गरिसकेकी छन् । एड्रियानाले सगरमाथा, केटु, मनास्लु, मकालु, ल्होत्से, अन्नपूर्ण, कञ्चनजंगा, धौलागिरी, नाङगापर्वत, ब्रोडपिक हिमालहरुको सफल आरोहण गरी सकेका छिन् । अब उनले चो ओयु, सिसापाङ, गसेरब्रुम–१ र गसेरब्रुम–२ चढ्न बाँकी छ ।
 

Advertisement

Advertisement