काठमाडौं । सोलुखुम्बुस्थित माप्यदूधकोशी गाउँपालिका र ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) बीच साझेदारी भएको छ । आइतबार काठमाडौंमा कार्यक्रम गरी गाउँपालिकामा पर्यटन विकासका लागि माप्यदूधकोशी गाउँपालिकाले टानसँग साझेदारी गरेको हो । गाउँपालिकाका तर्फबाट अध्यक्ष बुद्धिकिरण राई र टानका अध्यक्ष निलहरी बास्तोलाले हस्ताक्षर गरेका हुन् ।
गाउँपालिकाले टानसंँगको साझेदारीमा पालिकाभित्र पर्यटन विकासका कामहरूलाई अगाडी बढाउने भएको टानका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद दाहालले जानकारी दिए ।
विश्वको सर्वोच्च शिखर सगरमाथा र मेरापिकको प्रवेशद्वार भएर पनि पर्यटनका हिसाबले बत्ती मुनिको अँध्यारोको रूपमा रहेको सो गाउँपालिकाको पर्यटन विकासमा साझेदारी गर्ने सम्बन्धि विषयमा सम्झौता भएको छ । साझेदारीपत्रमा ट्रेकिङ ट्रेलको खोज, अन्वेषण, विकास र बिस्तारका लागि दुबै पक्षले महत्वपूर्ण भूमिका निर्बाह गर्ने सम्झौतामा उल्लेख गरिएको छ ।
यसअघि गाउँपालिका अध्यक्ष बुद्धिकिरण राई, वडा सदस्य दुर्गा राई,टानका पूर्ब प्रथम उपाध्यक्षसमेत रहेका चोलेन्द्र कार्की तथा टानका तर्फबाट वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद दाहाल नेतृत्वको टोलीले स्थानीय स्तरमा पर्यटन विकासको सम्भावनाबारे अध्ययन गरेका थियो ।