हिमाल आरोहणका क्रममा क्याम्प बनाउन लगिएका सामानहरु खुम्बु गाउँपालिकाले रोक्यो

Advertisement

काठमाडौं । हिमाल आरोहणका क्रममा सगरमाथा आधार शिविरमा क्याम्प तयार गर्न लगिएका सामान खुम्बु पासाङल्हामु गाउँपालिकाले स्याङबोचेमा रोकिदिएको छ । 

गाउँपालिकाले भने खुम्बु क्षेत्रमा धेरै हेलिकप्टरको उडान भएकाले त्यसलाई रोक्न गाउँपालिका, सगरमाथा राष्ट्रिय निकुञ्ज र जिल्ला प्रशासन कार्यालयले त्याङबोचेसम्म मात्रै हेलिकप्टरमा लैजान मिल्ने सहमति भएकाले सामानहरु रोकेको बताएको छ । 

Advertisement

यता ‘एट–के’ एक्सपेडिसनका सञ्चालक पेम्बा शेर्पाले खुम्बु गाउँपालिकाले स्याङ्बोचेभन्दा माथि सामान लैजान नदिएर अवरोध सिर्जना गर्ने काम गरेको गुनासो गरे । उनले भने, ‘स्याङ्बोचेबाट हामीले पाङ्बोचेसम्म सामान लान खोजेको । दिइरहेको छैन् । सामान अलपत्र अवस्थामा छ ।’ 

उनले थपे, ‘हामी सबै एक्स्पेडिशन कम्पनीहरुलाई समस्या भइरहेको छ । वसन्त ऋतु सुरु भएको छ यस्तो बेला सामान समयमा माथि पुर्याउन पाएन भने हिमाल आरोहण गराउन सक्दैनौं । हामीलाई सामान लैजान प्रतिबन्ध लगाइएको छ । सामान सबै स्याङबोचेमा छ । याक पनि छैन् । मेरो सात हजार केजी सामान छ ।’ 

गाउँपालिकाको अवरोधका कारण धेरै कम्पनीको सामान स्याङ्बोचेमा अलपत्र परेको छ । किन आफूहरुलाई सरकारी पक्षले रोकेको हो ? थाहा पाउन नसकेको बताउँदै शेर्पाले भने, ‘अब हामी आरोहण अनुमति ननिकाल्ने । त्यो सामानहरु सकुशल याक खोजेर पुर्याए ठिकै छ । नभए अनुमति ननिकाल्ने ।’ अप्रिल महिला सुरु हुन लागिसक्दा समेत सामान आधार शिविर पुर्याउन नसकेकोमा शेपामा छटपटी देखिन्थ्यो । 

उनका अनुसार अप्रिल महिनाको १०–१२ तारिखभित्र आरोहणमा जाने पर्यटकहरु आशार शिविर पुग्छन् । त्यहाँ उनीहरुका लागि बस्न क्याम्पहरु खडा गरिसक्नुपर्छ । सबै आवश्यक सामानहरु पुर्याइसकेको हुनुपर्छ । सामान छिटो पुर्याउन आरोहण आफू केही दिनदेखि लागिपरे पनि कसैले सुनुवाई नगरेको र विवाद मात्रै भएको शेर्पाले बताए । उनले हेलिकप्टरबाट पनि सामान लैजान नदिने र याक पनि नखोजिदिने कुरा गैरजिम्मेवार भएको बताए । 

सेभन समिट ट्रेकका कम्पनीका अध्यक्ष मिङमा शेर्पाले आफूहरुको सामान नुन्थलामा २० हजार किलो र स्याङ्बोचेमा तीन हजार किलो अड्किएको बताए । याक, जनशक्तिलगायत कुराहरु व्यस्थित भएको भए यसरी अहिले सामान अलपत्र पर्ने थिएन् भन्दै उनले, ‘यस्तो गर्ननहुने हो, सिजनको मुखमा । मान्छेले बोक्ननसक्ने सामान पनि छ । याकले बोक्न नमिल्ने सामान पनि छ । यो हामी कम्पनीहरुलाई मात्र नभएर खुम्बुको मान्छेहरुको लागि पनि खासै राम्रो कुरा होइन् ।’ 

स्याङ्बोचेभन्दा माथि सामान पुर्याउने याक नभएर सामान अलपत्र गर्दा गाउँपालिकाले वास्ता नगरेको बताउँदै शेर्पाले हेलिकप्टरले ‘सिलिङ’ गरेर लानुपर्ने सामान अरु विकल्पबाट लान नसकिने बताए । उनले थपे, ‘कोरोना महामारीपछि बल्लबल्ल पर्यटकहरु नेपाल भित्रिरहेका छन् । यतिखेर यस्तो किन ? भन्ने कुरा हो हाम्रो । न भारी बोकेर जाने मान्छे छ । न याक नै छ ।’

त्यस्तै, विश्व कीर्तिमानी पर्वतारोही तथा एलिट एक्स्पेड कम्पनीका संचालक मिङ्मा डेविड शेर्पाले आफूहरुको सामान नुन्थला र स्याङ्बोचेमा अड्किएको छ । नुन्थलामा सामान रोक्किएको एक हप्ता भइसकेको बताउँदै उनले शेर्पा गाइडहरु गोरकशेप पुगिसकेको तर उनीहरुको समेत झोला नुन्थलामा अड्किएको बताए । 

शेर्पाले भने, ‘गाउँपालिकाले यसरी रोक्ने मात्र होइन् ।  यसलाई व्यवस्थित गरेर पुर्याइदिने जिम्मा लिनुपर्यो । सहजीकरण गर्नुपथ्र्यो । याक र पोर्टर खोज्न सहजीकरण गरिदिनुपर्ने हो । न याक र पोर्टर खोजिदिएको छ न हेली उडान गर्न दिएको छ । यसरी कसरी हामीले हाम्रो सामान बेसक्याम्प पुराउने ?’

गाउँपालिका अध्यक्ष मिङ्मा छिरि शेर्पाले भने खुम्बु क्षेत्रमा धेरै उडान भएकाले त्यसलाई कम गर्न त्याङबोचेबाट माथि हेलिकप्टर नलैजाने सबैबीच सहमति भएअनुसार सामान रोकेको बताए । उनले भने, ‘गाउँपालिका, निकुञ्ज, सीडीओले निर्णय गरेको कुरा कार्यान्वयन गरेको हो ।’ याक व्यवसायी, पर्यटन मजदुरसमेत यस कुरामा सहमत भएको शेर्पाको दावी छ । 

उनले थपे, ‘एक्सपेडिसन अपरेटर एशोसियशनलाई हामीले पहिलाकै निर्णय एक महिनाअघि नै पठाएको हो । खबर पाएर पनि उनीहरु त्यतिखेर वास्ता नगर्ने, अहिले आएर अन्तिम समयमा कराएर हुन्छ ?’

Advertisement

Advertisement