काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितहरुसँग सरकारले गरेको सहमति कार्यान्वयन हुने बताएका छन् ।
आईतवार स्वास्थ्य परीक्षणपछि आ–आफ्नो घर फर्किन लागेका मिटरब्याज पीडितहरुलाई भेट्न पुगेका श्रेष्ठले सरकारले गरेको सम्झौता कार्यान्वयन हुने दावी गरेका हुन् । उनले पीडितहरु सरकारसँग गरेको सम्झौता कार्यान्वयन हुनेमा विश्वस्त भएर फर्किन लागेका पनि जिकिर गरे ।
सरकार सहमतिप्रति गम्भीर रहेको भन्दै श्रेष्ठले सहमतिको कार्यान्वयन हुने दोहोर्याए । उनले समस्या समाधानका लागि आयोग बनाउने प्रश्ताव मन्त्रिपरिषद्मा पुगिसकेको पनि बताए । श्रेष्ठले आयोग गठनको निर्णयपछि छानविन प्रक्रिया अगाडी बढ्ने बताए ।
उनले भने, ‘वार्ता भएर हामीले सहमति पनि गरिसकेका छौँ । उहाँहरु अब फर्किने तयारीमा हुनुहुन्छ । फर्किनुभन्दा अगाडी हामीले उहाँहरु सबै हिँडेर आउनुभएको यत्रोदिन उताबाट स्वास्थ्य परीक्षण पनि गराऔँ । केही उपचार गर्नुपर्ने छ भने उपचार पनि गराऔँ भनेको थियौँ । त्यो के भइरहेको छ भनेर एउटा, दोस्रो कुरो उहाँहरु जाने स्थितिमा अझै केही छ कि भन्नुपर्ने भनेर आन्दोलनकारी साथीहरुसँग कुरा गर्ने भनेर आएको ।’
पीडितहरुले आफूहरुले न्याय पाउनेमा विश्वास रहेको बताए । महेन्द्र साह, मनोजकुमार पासवानलगायतहरुले सरकारले गरेको सहमतिप्रति विश्वास रहेको बताए । गाउँसम्म पुग्ने व्यवस्थापन आफूहरु स्वयंले गरेको पनि उनीहरुको भनाई छ ।