काठमाडौं । हिमाल आरोहण मौसम सुरु भएसँगै पर्यटन विभागबाट विभिन्न हिमाल आरोहणका लागि अनुमति लिनको संख्या १८१ पुगेको छ । उनीहरु १२ वटा हिमाल आरोहणको लागि अनुमति लिएका हुन् ।
विभागका पर्वतारोहण शाखाका निर्देशक युवराज खतिवडाले आरोहण अनुमतिबारे जानकारी गराउँदै यस वसन्त सिर्जनबाट हिमाल सरसफाइमा विभागले अझ बडी ध्यान दिएको बताए ।
विश्वको सर्वोच्च शिखर सगरमाथा आधार शिविर (बेस क्याम्प)देखि क्याम्प–२ सम्मको ‘रोप फिक्सिङ’ देखि लिएर सरसफाइ पनि हेर्ने जिम्मेवारी सगरमाथा प्रदूषण नियन्त्रण समितिलाई दिएको छ भने, क्याम्प–२ देखि माथि चुचुरोसम्ममा एक्स्पेडिशन अपरेटर एशोसियशनलाई तोकेको उनले जानकारी दिए ।
खतिवडाले भने, ‘कुनै एजेन्सीहरूले फोहोर त्यही छोड्छ कि ? कुनै आरोहीले फोहोर त्यही छोड्छ की ? त्यसको पनि निगरानी गर्नुपर्छ भनेर सगरमाथा प्रदूषण नियन्त्रण समिति र एक्स्पडिशन अपरेटर एशोसियशनलाई काम लगाएका छौं । बेस क्याम्पदेखि क्याम्प–२ सम्मको सरसफाइको काम पनि उनीले हेर्नुपर्छ । कसैले त्यहाँ फोहोर गर्यो भने उनीहरुले रिपोटिङ गर्नुपर्छ ।’
साथै समिति र एशोसियशनले त्यस क्षेत्रमा भेटिएका मृत शरीरहरू पनि तल ल्याउनुपर्ने सम्झौतामा रहेको निर्देशक युवराज खतिवडाले बताए । उनले भने, ‘हामीले सगरमाथा प्रदूषण नियन्त्रण समिति र एक्स्पेडिशन अपरेटर एशोसियशनसँग राखेको सम्झौताको आधारमा हामी उनीहरुको कामको मूल्यांकन गछौं । उनीहरुले कुन–कुन काम गरे ? कुन–कुन गरेन् ? उनीहरुको कामको मूल्यांकन गछौं । त्यो कुराहरुको आधारमा आगामी दिनमा उनीहरुलाई रोप फिक्सिङको जिम्मा दिने कि नदिने भन्ने कुरा निर्धारण हुन्छ ।’
त्यस्तै, उनले लियजन अफिसर (सम्पर्क अधिकृत)हरु बेस क्याम्पमा लामो समयसम्म बस्न नसक्ने भन्दै उनीहरुको समन्वयका लागि एक टिम बनाउने तयारी भइरहेको बताए । खतिवडाले भने, ‘उनीहरुमा त्यस किसिमको अभ्यास, घुलमिल नभएकाले चिसोमा लामो समय बस्न समस्या हुने गरेको छ । कतिपय लियजन अफिसर बीचबाटै फर्किने गरेको देखिएको छ । उनीहरुको समन्वय प्रभावकारी बनाउन आधार शिविरमा एक समन्वय टिम समेत रहने गरी तयारी गरिएको छ ।’
विभागले गठन गरेको नयाँ टिमले लियजन अफिसरसँग समनय गरेर काम गर्ने छ । उक्त टिममा ७ जना जति .सम्म राख्ने उनले बताए । परिसंचरण गर्दै जादा बेस क्याम्पमा भएका (सूचना अधिकृत) त्यस क्षेत्रमा हामीले यो सिर्जनको भरि चाँहि सूचना अधिकृतहरु कुनै न कुनै रुपमा अटुट रुपमा रहने गरि प्रावधान गरी रहेको उनले जानकारी दिए । विभागले अनुगमन समिति गठन गर्न प्रस्ताव गरे अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निर्णय गरेको निर्देशक खतिवडाले बताए ।
सगरमाथा आरोहणको रुट निर्माणको लागि आइसफल डाक्टरको टोली सगरमाथा आधार शिविरदेखि रोप फिक्सिङ गर्दै क्याम्प–१ पुग्न लागेका सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामा काजी शेर्पाले जानकारी दिए ।
उक्त टिममा छिरिङ तेन्जिङ शेर्पा (आधार शिविरका प्रबन्धक), आङ सार्की शेर्पा, छेवाङ नुरु शेर्पा, दावा जाङ्बु शेर्पा, दावा नुरु शेर्पा, मिङ्मा तेम्बा शेर्पा, पेम्बा छिरिङ शेर्पा, सोनाम छिरिङ शेर्पा र तेन्जिङ दोर्जी शेर्पा आइसफल डाक्टरहरू रहेका छन् । त्यस्तै, दुई जना किचन् स्टयाफ (नवाङ थातेन शेर्पा र वाङ्दी गेल्बु शेर्पा) र एक जना फोहोर व्यवस्थापन कर्मचारी (सञ्जीव तामाङ) समेत रहेका छन् ।
त्यस्तै, क्याम्प–२ देखि माथि सगरमाथाको चुचुरोसम्म ‘रोप फिक्सिङ’को काम इमाजिन नेपाल ट्रेक्स नामक कम्पनीले पाएको छ । माउन्टेन गाइड दावा ग्याल्जे शेर्पाले यो कामको नेतृत्व गर्नेछन् ।