काठमाडौं । कृतिम खुट्टाको भरमा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न भूतपूर्व गोरखा सैनिक हरि बुढामगर अघि बढेका छन । सगरमाथा आरोहण गर्न हिंडेका उनी बुधबार लुक्ला पुगेका छन् ।
बुढामगरले पाँच वर्षको पर्खाइपछि सगरमाथाको आरोहण अनुमति पाएको कर्पोरेट नेपाललाई जानकारी दिए । उनले भने, ‘सगरमाथा चढ्न अनुमति पाएको छु । मलाई निकै खुःशी लागेको बताए । सफलतापूर्वक चढेर फर्किन्छु भन्ने विश्वास छ ।’ आफूले यस आरोहणले साना नेपालीलाई विशेषगरी, अपांगता भएकाहरुलाई खुशी दिने बुढामगरको बताए ।
उनले थपे, ‘शारीरिक अशक्तता भएका व्यक्तिहरु पनि कोहीभन्दा कमजोर हुँदैनन् भन्ने आत्मविश्वास जगाउनका लागि यो आरोहण सफल बनाउनुपर्ने छ ।’ यसअघि बुढामगरले कृत्रिम खुट्टाको सहारामा सगरमाथा आधार शिविर पुगी कीर्तिमान कायम गरेका थिए ।
अफगानिस्तानको लडाइँमा दुवै घुँडाभन्दा माथिसम्म खुट्टा गुमाएका उनले कृत्रिम खुट्टाको सहाराले सगरमाथा आधार शिविर पुगेर स्काइड्राइभिङ पनि गरेका थिए । बुढामगरले हालै मोरक्कोमा रहेको उत्तर अफ्रिकाको सबैभन्दा अग्लो हिमाल माउन्ट टुबकल (४,१६७ मिटर)को सफलतापूर्वक आरोहण गरेका थिए ।
हेलिकप्टरबाट स्काइड्राइभिङ पनि गरेका बुढामगरले पाराग्लाइडिङसहित कुश्मास्थित विश्वको दोस्रो अग्लो वन्जिजम्प र विश्कै अग्लो स्विङसमेत गरेका छन् । साथै, उनले मोन्ट ब्लाङ्क (४,८१० मिटर), चुलु सुदूरपूर्व (६,०५९ मिटर), किलिमन्जारो (५,८९५ मिटर) र मेरा पिक (६,४७६ मिटर) आरोहण गरेका छन् । बुढामगरले २०१७ मा मेरा पिक आरोहण गरी छ हजार मिटरभन्दा अग्लो हिमाल आरोहण गर्ने पहिलो घुँडा माथिको ‘डबल एम्प्युटि’ गर्ने व्यक्ति बनेका थिए ।