काठमाडौं । होटल व्यवसायीले बुधबार अर्थमन्त्री प्रकाशशरण महतलाई भेटेर बैंकको चर्को ब्याजदर होटल जस्तो संवेदनशील क्षेत्रले थेग्न नसक्ने बताएका छन् ।
होटल संघ नेपाल (हान)का प्रतिनिधिहरुले कोभिड महामारीबाट सबैभन्दा धेरै प्रभावित भएको क्षेत्र पर्यटन र होटल भएको र अझै पनि यो क्षेत्र लयमा आउन नसकेको भन्दै आफूहरु पलायनको स्थितिमा पुगेको बताएका छन् ।
हानकी अध्यक्ष सिर्जना राणाले कोरोनाको प्रकोप पहिलेको अवस्थामै नभए पनि क्षमताको तुलनामा पर्यटकको आवागमन तथा गतिविधिको कमीले अझै सञ्चालन खर्च धान्न मुस्किल परेको र दैनिक रुपमा आफूहरु घाटामा संचालनमा रहेकोले आफूहरुको समस्या समाधान गर्न आग्रह गरिन् ।
हानले समस्या समाधानका लागि दिएका सुझाव यस्ता छन्ः
१. राष्ट्रिय प्राथमिकता प्राप्त उद्योग सम्बन्धमाः धेरै धनराशी खर्च भई, वैदेशिक मुद्रा आर्जनको मुख्य स्रोत तथा बढी भन्दा बढी रोजगारी सिर्जना गर्ने होटल उद्योगलाई अन्य उत्पादनमूलक उद्योग सरह आगामी बजेट र कानूनमै राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको रुपमा समावेश गरी यस उद्योगको जर्गेना गरिदिन माग ।
२. ब्याजदर सम्बन्धमाः व्यवसायीको आजको सबैभन्दा जटिल समस्या भनेको बैंकको बढ्दो ब्याजदर होटल जस्तो अति संवेदनशील उद्योगमा धान्नै नसकिने गरी अधिक भएको र व्यवसाय सञ्चालन गर्न तथा लगानी आकर्षण गर्न प्रतिकुल देखिएकोले यसलाई घटाएर व्यवसाय सञ्चालनमैत्री बनाइदिन अनुरोध ।
३. समय सीमा सम्बन्धमाः होटल उद्योगले लिएको साँवाको किस्ता र त्यसमा बहन गर्नुपर्ने ब्याज तिर्ने बुझाउने हाम्रो जिम्मेवारी रहेको हुँदा हुँदै पनि यस परिस्थितिमा अतिप्रभावित तथा पुनरुत्थानकै क्रममा रहेको होटल उद्योगले हालको अवस्थामा कुनै पनि हालतमा बैंकलाई साँवा र व्याज बुझाउन सक्षम नरहेको तर बैंकबाट सीमाभित्र साँवा ब्याज बुझाउन तीव्र ताकेता रहेकोले देशैभरका होटल व्यगवसायीहरु आन्दोलित रहेको हुँदा तोकिएको समयसीमा बढाई थप सहजिकरणका लागि अनुरोध गरिन्छ ।
४. पुनतालिकीकरण र पुनरकर्जा सम्बन्धमाः मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत सम्बोधन हुन नसकेको पुनतालिकीकरण र पुनरकर्जा सुविधा अब आउने अर्धवार्षिक समीक्षामार्फत स्पष्ट खुलाउँदै सुविधा प्रदान गरी कार्यान्वयनको व्यवस्था हुन अनुरोध गरिन्छ ।