चौरासी बर्षको वृद्ध उमेरमा धौलागिरी चढेर विश्व कीर्तिमान बनाउन नेपाल आए ‘फन्टन’

Advertisement

काठमाडौं । स्पेनको म्याड्रिडका ८४ वर्षीय वृद्ध पर्वतारोही कार्लोस सोरिया फन्टन धौलागिरी हिमाल आरोहणका लागि उक्त हिमालको आधार शिविर प्रस्थानको तयारीमा लागेका छन् । 

उनी अहिले काठमाडौंमा छन् । अबको तीन–चार दिनपछि फन्टन आधार शिविरतर्फ लाग्ने सेभेन समिट ट्रेकका निर्देशक पासाङ फुर्बा शेर्पाले जानकारी दिए । सोही कम्पनीका पर्वतारोहण गाइड मिङ तेम्बा शेर्पा (मिकिल शेर्पा)ले स्पेनिस पर्वतारोही कार्लोसलाई आरोहणमा गाइड गर्नेछन् ।

Advertisement

सेभेन समिट निर्देशक शेर्पाले विश्वका १४ सर्वोच्च शिखरहरू चढ्ने लक्ष्यमा रहेका फन्टनले हालसम्म १२ सर्वोच्च शिखरहरू चढिसकेका छन् । उनले विश्वका १४ अग्ला हिमालको चुचुरोमा पुग्ने विश्वकै सबैभन्दा वृद्ध व्यक्ति बन्ने चुनौती लिएका छन् । 

साठी वर्ष पुगेपछि आठ हजार मिटरभन्दा अग्ला १० वटा हिमाल आरोहण गर्ने उनी एक मात्र पर्वतारोही हुन् । यसअघि पनि फन्टन धौलागिरी आरोहणका लागि पटक पटक नेपाल आएका थिए । यो प्रयास उनको १५ औं हो । स्वास्थ्य समस्याका कारण  यसअघि पटक पटक आरोहण रद्द गर्नुपरे पनि अहिले भने सफल हुने जोश र साहसका साथ फन्टन नेपाल आएका छन् । 

धौलागिरी आरोहणपछि उनी तिब्बतको शिशापाङ हिमाल आरोहण गर्ने छन् । फन्टनले ५१ वर्षको उमेरदेखि नाङ्गा पर्वत हिमाल, माउन्ट ग्यासब्रम–१, माउन्ट ग्यासब्रम–२, माउन्ट चो ओयु, सगरमाथा, माउन्ट केटु, व्रोड पिक, मकालु, मनासलु, लोत्से, कञ्चनजंगा, अन्नपूर्ण हिमालहरुको सफलतापूर्वक आरोहण गरिसकेका छन् । 

सन् २०१३ मा मीनबहादुर शेरचनले सबैभन्दा बढी उमेरमा पर्वतारोहीको कीर्तिमान तोडेका थिए भने जापानका अर्का आरोही यूछिरो मिरुवाले सन् २०१३ मा ८० वर्षको उमेरमा सगरमाथामा पाइला टेकेर मीनबहादुरको ७६ वर्षको कीर्तिमान तोडेका थिए ।

Advertisement

Advertisement