सिलवालले भने, ‘बीमा गर्दा विपन्न परिवारले क्षतिपूर्ति पाउँछन्, मिटर ब्याजीकोमा जानु पर्दैन’

Advertisement

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले कारोवार कम भए पनि बीमाप्रतिको विश्वसनीयता कायम हुनेगरी बीमा व्यवसाय गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएका छन् । उनले प्राधिकरणको आयोजनामा मधेश प्रदेशस्थित बीमकहरुका प्रदेश तथा शाखा कार्यालयका प्रमुख र कर्मचारीहरुसँग आज भएको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै बीमालेख नविकरणमा ध्यान दिन निर्देशन दिएका हुन् ।

अध्यक्ष सिलवालले भने,‘मधेश प्रदेशमा बीमाको पहुँच आठ प्रतिशत मात्र छ । मधेशमा बीमाको पहुँच बढाउन बीमा कम्पनीहरु नयाँ ढङ्गले अगाडि बढ्नुपर्यो । योग्य र दक्ष बीमा अभिकर्ताका माध्यमबाट बीमा व्यवसाय गर्नाले बीमाको पहुँच बढ्छ, त्यसतर्फ ध्यान दिनुपर्यो । बीमा गरेपछि विपन्न परिवारले क्षतिको क्षतिपूर्ति बीमा कम्पनीबाट पाउँछन्, मिटरब्याजीकोमा जानु पर्दैन । तसर्थ, बीमाले मिटरब्याजीलाई निरुत्साहित गर्छ ।’

Advertisement

अध्यक्ष सिलवालले बीमा कम्पनीले नयाँ बीमालेख र बीमाशुल्कमा मात्र ध्यान नदिई बीमालेख नवीकरणमा पनि ध्यान दिनुपर्नेमा जोड दिए । उनले ल्याप्स र सरेण्डरको अवस्था आउन नदिने गरी काम गर्न अनुरोध गरे ।

प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा दाबी भुक्तानीलाई छिटोछरितो बनाउन र अस्वस्थ प्रतिस्पर्धा नगर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएका छन् ।
 

Advertisement

Advertisement