काठमाडौं । नेपाल राष्ट्र बैंकले अघिल्लो वर्षको सञ्चित विदेशी मुद्राले नै साढे १५ महिनाको वस्तु आयात धान्न पुग्ने जनाएको छ । आइतबार गभर्नर महाप्रसाद अधिकारीले उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन बुझाउँदै यस्तो रिपोट पेश गरेका हुन् ।
गभर्नर अधिकारीले पेश गरेको प्रतिवेदनमा २०८१ असार मसान्तसम्मा कुल विदेशी विनिमय सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड रुपियाँ बराबर कायम भएको छ। अमेरिकी डलरमा यस्तो विदेशी विनिमय सञ्चिति करिब १५ अर्ब २७ करोड रहेको छ ।
२०८१ असार मसान्तमा कायम रहेको विदेशी विनिमय सञ्चितिले १५.६ महिनाको वस्तु आयात र १३.० महिनाको वस्तु तथा सेवा आयात वान्न पुग्ने देखिन्छ, राष्ट्र बैंकले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।
तथापि, आर्थिक वर्ष २०८०/८१ मा कुल वस्तु निर्यातमा ३० प्रतिशतले कमी आई रु. १ खर्ब ५२ अर्ब ३८ करोड र कुल वस्तु आयातमा १.२ प्रतिशतले कमी आई रु.१५ खर्ब ९२ अर्ब ९९ करोड रहेको केन्द्रीय बैंकले जनाएको छ।
समीक्षा वर्षमा कुल वस्तु व्यापार घाटा १.० प्रतिशतले घटेर रु.१४ खर्ब ४० अर्ब ६० करोड रहेको केन्द्रीय बैंकले जनाएको छ। यो कुल गार्हस्थ्य उत्पादनको २५.३ प्रतिशत हो ।