सगरमाथाको क्याम्प–२ सम्मको ‘रोप फिक्सिङ’ सम्पन्न, चुचुरोसम्म चाँडै

Advertisement

काठमाडौं । वसन्त ऋतुका लागि सर्वोच्च शिखर सगरमाथाको आरोहणका लागि सगरमाथा आधार शिविरदेखि क्याम्प–२ सम्म ‘रोप फिक्सिङ’ (डोरी टाँग्ने काम) सम्पन्न भएको छ ।

सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामा काजी शेर्पाका अनुसार बिहीबार सगरमाथा आरोहणको रुट निर्माणको लागि आइसफल डाक्टरको टोलीले सगरमाथा आधार शिविरदेखि क्याम्प–२ सम्मको रोप फिक्सिङ गरेको छ । 

Advertisement

आइसफल डाक्टरहरूको टिममा आङ सार्की शेर्पा, छेवाङ नुरु शेर्पा, दावा जाङ्बु शेर्पा, दावा नुरु शेर्पा, मिङ्मा तेम्बा शेर्पा, पेम्बा छिरिङ शेर्पा, सोनाम छिरिङ शेर्पा र तेन्जिङ दोर्जी शेर्पा रहेका छन् । उक्त टिममा छिरिङ तेन्जिङ शेर्पा (आधार शिविरका प्रबन्धक), दुई जना किचन् स्टयाफ (नवाङ थातेन शेर्पा र वाङ्दी गेल्बु शेर्पा) र एक जना फोहोर व्यवस्थापन कर्मचारी (सञ्जीव तामाङ) समेत रहेको अध्यक्ष लामा काजी शेर्पाले जानकारी दिए ।

त्यस्तै, क्याम्प–२ देखि सगरमाथाको चुचुरोसम्म ‘रोप फिक्सिङ’ इमाजिन नेपाल ट्रेक्स नामक कम्पनीले पाएको छ । उक्त टिममा १० जना शेर्पाहरु रहेका छन् । टिमको नेतृत्व माउन्टेन गाइड दावा ग्याल्जे शेर्पाले गर्ने छन् । इमाजिन नेपाल ट्रेक्सका प्रबन्धक दावा फुुटी शेर्पाले वसन्त ऋतुको लागि सगरमाथा र माउन्ट ल्होत्सेमा रोप फिक्सिङको काम गर्न इमाजिन नेपालले  पाएको जानकारी दिइन । 

अबको केही दिनमै हाम्रो टिमले क्याम्प–२ देखि चुचुरोसम्मको रोप फिक्सिङ सुरु गर्ने शेर्पाले बताइन् । वसन्त ऋतुका लागि सगरमाथासहित १७ वटा हिमाल आरोहणका लागि ३७ मुलुकका ४४३ जना आरोहीले पर्यटन विमागबाट आरोहण अनुमति लिएका छन् । अनुमति लिनेमध्ये ३५२ जना पुरुष र ९१ जना महिला छन् । उनीहरुबाट २७ करोड ९५ लाख २२ हजार ३२१ रुपियाँ रोयल्टी संकलन गरेको विभागले जनाएको छ । 

Advertisement

Advertisement