किङ्ग्स् कलेजले ‘कम्युनिभर्सिटी समर प्रोग्राम’ सञ्चालन गर्ने

Advertisement

काठमाडौं । उद्यमशिलता अध्यापनमा नेपालकै अग्रणी मानिएको किङ्ग्स् कलेजले ‘कम्युनिभर्सिटी समर प्रोग्राम’ सञ्चालन गर्न लागेको जानकारी दिएको छ । 
 
शैक्षिक संस्था, उद्योग र समुदायलाई विद्यार्थीहरूको सिकाइमा जोड्ने उद्देश्यका साथ कलेजले अर्को वर्षको असार ४ देखि नौ हप्तासम्मका लागि काभ्रेस्थित पाँचखाल नगरपालिकामा सो कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिएको हो । 

समुदाय आफैँमा एउटा महत्वपूर्ण पाठ्यक्रम हो भन्ने अवधारणामा आधारित रहेर सञ्चालन गर्न लागेको यस शैक्षिक कार्यक्रममा कक्षा १२, ए लेभल तथा सो सरहका परीक्षा दिएका विद्यार्थी सहभागी हुन पाउने छन् । कार्यक्रमका दीक्षितहरूले प्राप्त गर्ने क्रेडिटलाई किङ्ग्स् कलेज, अमेरिकास्थित वेस्टक्लिफ युनिभर्सिटी र फिनल्यान्डस्थित कायानी युनिभर्सिटी अफ एप्लाइड साइन्सले अनुमोदित गर्ने कलेजले जनाएको छ ।  

Advertisement

कलेजका कार्यकारी निर्देशक नरोत्तम अर्याल भन्छन्, ‘समुदायमा असंख्य ज्ञान, सीप, प्रविधिका साथसाथै अनेकन कथा र अनुभव हुन्छन् । शिक्षण संस्था एक्लैले जीवन र जगतका बहुआयामिक पक्षहरू सिकाउन सम्भव छैन् जसको कारण समुदाय र शैक्षिक संस्थाहरुको सहकार्य महत्वपूर्ण रहन्छ ।’

पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले यस कार्यक्रमले शिक्षामा परिवर्तन ल्याउने विश्वास व्यक्त गरे । शिक्षालाई जीवन, समुदाय  र सीपसँग जोड्नुपर्ने आवश्यकता औल्याउँदै उनले भने, ‘शैक्षिक हबको रूपमा अगाडि बढेको पाँचखाल नगरपालिकासँगको  सहकार्यमा संचालन हुने यस कार्यक्रमप्रति हामी उत्साहित छांै ।’

कार्यक्रमको नेतृत्व गरिरहेका प्राध्यापक उद्ग खड्काले यस कार्यक्रमको  डिजाइन र कार्यान्वयनसम्ममा समुदाय र उद्योगको सहभागिता हुने बताए ।  उनले भने, ‘नेपालको उच्च शिक्षालाई माटो सुहाउँदो र जीवनोपयोगी बनाउन ‘कम्युनिटी’ र  ‘युनिभर्सिटी’ जोड्ने यस पहलले नयाँ मानक स्थापना गर्दछ भन्ने कुरामा हामी ढुक्क छौँ ।’

कलेजले यस कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक, कारखाना, एफ वान सफ्ट, फुडमान्डु र काठमान्डु अर्गानिक्स उद्योग साझेदारका रूपमा रहने जानकारी दिएको छ ।  स्थानीय समुदायबाट प्रत्यक्ष साझेदारी पाँचखाल नगरपालिका र सर्वमंगला कलेजसँग गरिएको छ ।

Advertisement

Advertisement