प्रहरी कार्यालयहरुमा योग तथा ध्यान शिविर सञ्चालन गर्ने गृहमन्त्री श्रेष्ठको नयाँ ‘आइडिया’

Advertisement

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृह मन्त्रालय र मातहतका सबै सुरक्षा निकायहरुमा योग तथा ध्यान शिविर संचालन गर्ने घोषणा गरेका छन् । 

श्रद्धेय धम्मवती गुरुमाँ विशेष सामूहिक धम्मपूजा आयोजक समितिले शुक्रबार गरे कार्यक्रममा उनले योग र ध्यानले सही ढंगले काम अघि बढाउन मद्दत गर्ने भन्दै सबै सुरक्षा निकायहरुमा यस्ता शिविर सञ्चालनमा ल्याउने र नियमित गर्नका लागि पहल गर्ने बताएका हुन् । 

Advertisement

श्रेष्ठले ध्यान र योगले फाईदा गर्ने भएकाले आफूले प्रधानमन्त्री पुष्पकमल दाहाललगातका नेताहरुलाई पनि केही समय यसमा दिन भन्ने गरेको बताए । आफूमा योग र ध्यानको आशक्ति रहेको र दुई पटक त्यसका लागि आफू २० दिन ध्यानमा बसेको पनि उनले सुनाए । 

श्रेष्ठले यसअघि आफूले भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको रुपमा त्यहाँ पनि योग तथा ध्यान शिविर सञ्चालन गर्न खोजेको तर समय अभावका कारण त्यसलाई लागू गर्न असमर्थ भएको समेत बताए । उनले भने, ‘सार्वजनिक पदधारण गरेका व्यक्तिहरुले ध्यान गर्नु अनिवार्य छ भन्छु म । मैले पार्टीको बैठकमा हाम्रो अहिलेको प्रधानमन्त्री, श्रद्धेय अध्यक्षलाई, एउटै पार्टीमा हुँदा बाबुरामजीलगायत सबैलाई भन्ने गर्थें–कमसेकम थोरै समय ध्यानलाई दिऊँ । हामीलाई मद्दत नै गर्छ त्यसले । सही ढंगले काम अघि बढाउनका लागि यसले मद्दत नै गर्छ ।’

श्रेष्ठले थपे, ‘म आफैं ध्यानमा बसेको छु दुई पटक । अहिले पनि ध्यानका कुनै केन्द्रहरुमा मेरो आशक्ति छ । र, मैले यसभन्दा अगाडि झण्डै ३ महिना मात्रै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा त्यहाँ योग र ध्यानको शिविरहरु मन्त्रालयभित्रै चलाउने भनेर प्लान बनाएको थिए । त्यो लागू गर्न पाईन । अहिले म गृह मन्त्रालयमा छु । गृह मन्त्रालयमा, नेपाल प्रहरीमा, सशष्त्र प्रहरी बलमा र अन्य प्रशासनिक संयन्त्रमा योग र ध्यानको शिविर संचालन गरेर यसलाई नियमित गर्ने पहलकदमी लिनेछु । ’

उनले काठमाडौं महानगरपालिकालाई सिंहदरवार, शीतल निवास र बालुवाटारको फोहोर उठाउदिन भन्न नमिल्ने बताए । कुनै एउटा सन्दर्भलाई लिएर काठमाडांै महानगरपालिका मेयर बालेन साहले भनेको प्रसंगलाई उदृत गर्दै श्रेष्ठले त्यसो भन्न मिल्छ कि मिल्दैन ? भनेर सोची दिन पनि आग्रह गरे ।

उनले भने, ‘म काठमाडौं महानगरपालिकाको उपमेयरज्यूले जुन सत्बचत यहाँ बोल्नु भो । त्यो सद्बचनले एउटा कुरा गरोस् भन्ने कामना पनि गर्न चाहान्छु । त्यस्तो सत्बचन भएको, सत्यको पक्षपाती हुनु भएका उपमेयर हुुनु भएका काठमाडौं महानगरपालिकाले कुनै एउटा सन्दर्भलाई लिएर सिंहदरबारको फोहोर नउठाउने, राष्ट्रपति कार्यालयको फोहोर उठाउदिन, बालुवाटारको फोहोर उठाउदिन भन्न मिल्ला नि नमिल्ला ? एकचोटी यसो यहाँ (छाती)मा हात राखेर सोच दिनु भए धेरै गुण लाग्थ्यो । त्यतातिर पनि म ध्यानाकर्षण गराउन चाहन्छु ।’

श्रेष्ठले फोहोरी राजनीतिलाई सफा गरेर देशलाई बनाउनुपर्ने दोहोर्याए । उनले आफू सन्यासी भएको पनि त्यस अवसरमा उल्लेख गरे । 

Advertisement

Advertisement