नाम्चे । नेपाल प्रहरी पहरा गण सामाखुशीमा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक पुरुषोत्तम नेपालीले सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्ने भएका छन् ।
नेपाल प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरबाट बिदाई भएर सगरमाथा आधार शिविर प्रस्थान गरेका नेपाली अहिले नाम्चे आइपुगेका छन् । आईजीपी कुँवरले उनलाई राष्ट्रिय झण्डा, नेपाल प्रहरीको झण्डा र इन्टरपोलको झण्डा हस्तान्तरण गरेर विदाई गरेका थिए ।
इलाइट हिमालयन एडभेन्चरका निर्देशक तथा विश्व कीर्तिमानी पर्वतारोही मिङमा डेभिड शेर्पाले अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) स्थापनाको शताब्दी वर्षको अवसरमा सगरमाथाको चुचुरोमा राष्ट्रिय झण्डा, नेपाल प्रहरीको झण्डा र इन्टरपोलको झण्डा फहराउन उनी सगरमाथा चढ्न लागेको जानकारी दिए । उक्त कम्पनीमार्फत नेपाली हिमाल चढ्न लागेका हुन् ।
कुँवरले यस आरोहणमार्फत इन्टरपोलको सदस्य राष्ट्रहरूको शान्ति सुरक्षा, अपराध अनुसन्धान एवं नियन्त्रणमा भएको प्रतिवद्धताप्रति नेपाल प्रहरीको पनि पूर्णरूपमा ऐक्यबद्धता रहेको सन्देश तथा पर्यटकहरूको सुरक्षाको अनुभूति हुने सन्देश समेत प्रवाह हुने बताएका थिए ।
आरोहणका लागि प्रधानमन्त्री र गृहमन्त्रीस्तरको फागुन २६ गतेको निर्णय अनुसार स्वीकृत भई र पर्वतारोहणसम्बन्धी तालिम प्राप्त गरी नेपालीले यसअघि मेरापिक (छ हजार ४७६ मिटर)लगायतको सफलतापूर्वक आरोहण गरिसकेका छन् । उनलाई प्रहरीले हिमाल आरोहणका लागि छनोट गरेको हो ।
सन् १९२३ मा अष्ट्रियाको भियनामा स्थापना भएको इन्टरपोलले सफलतापूर्वक १००औं वसन्त ऋतृ पूरा गरेको अवसरमा इन्टरपोलको शताब्दी वर्ष मनाउने क्रममा नेपाल प्रहरीले पनि विभिन्न कार्यक्रमहरूको आयोजना गरी मनाउने योजनाअन्तर्गत विश्व सम्पदा सूचीमा सूचीकृत सर्वोच्च शिखर सगरमाथामा नेपाल प्रहरीका कर्मचारीले आरोहण गरी चुचुरोमा नेपालको राष्ट्रिय झण्डासहित नेपाल प्रहरी र इन्टरपोलको झण्डाहरू फहराउने कार्यक्रम बनाएको हो ।