गोरखछेप (खुम्बु) । वसन्त ऋतु सुरु भएसँगै खुम्बु क्षेत्रमा आन्तिरक तथा बाह्य पर्यटकले भरिभराउ भएको छ । पदयात्रा र हिमाल आरोहणका लागि देश विदेशबाट आएका पर्यटकहरुले गर्दा यो क्षेत्रमा अहिले निकै रमाइलो भइरहेको छ ।
विश्वको सर्वोच्च शिखर सगरमाथादेखि थुप्रै हिमश्रृंखलालाई नजिकबाट नियाल्न, छुन र आरोहण गर्न हरेक बर्ष विशेषगरी वसन्त ऋतुमा खुम्बु क्षेत्रमा विदेशी पर्यटकहरुको भीड लाग्छ ।
पर्यटकहरु पदयात्रा तथा हिमाल आरोहणको लागि यस बर्षको वसन्त सिजनमा उत्साहजनक संख्यामा पर्यटक आएको पर्यटन व्यवसायी बताउँछन् । होटल एशोसियशन नाम्चेका सल्लाहकार लामाकाजी शेर्पाका अनुसार कोभिड महामारीपछि यो बर्षको सिजनमा पर्यटकहरुको आगमन निकै बढेको छ । उनले भने, ‘नाम्चेमा भएका होटलहरु भरिभराउ छ । पदयात्रा र हिमाल आरोहणमा जाने पर्यटकहरु धेरै आएका छन् ।’
डिङबोचे रिसोर्टका सञ्चालक सोना फुटी शेर्पाले डिङबोचेमा अहिले पर्यटकहरुको चहलपहल धेरै रहेको बताइन् । उनले यस क्षेत्रका होटलहरुमा अहिले पर्यटकहरु भरिभराउ रहेको बताइन् ।
गोरखछेपस्थित एभरेष्ट इनका सञ्चालक पासाङ छिरिङ शेर्पाले पनि सिजनमा पर्यटकहरुको आगमन राम्रो हुने गरेका बताए । यो बर्ष पनि सिजनमा पनि पर्यटकहरु निकै आएको सुनाउँदै उनले संसारको सबैभन्दा उचाई (५,१८० मिटर) र सगरमाथा आधार शिविरमा रहेको होटल भएकाले एभरेष्ट इनमा पर्यटकहरुको आकर्षण धेरै हुने गरेको बताए । यो होटलले वर्ड बुक अफ रेकर्डमा पनि नाम लेखाउन सफल भएको छ ।
सगरमाथा आधार शिविर जाँदै गरेका फोटो पत्रकार बिनोद कुलुङले पनि खुम्बु क्षेत्रमा पर्यटकहरुको चहलपहल देखेर आफूलाई खुशी लागेको बताए । नौ–दश वर्षका बच्चादेखि लिएर ७०–७५ वर्षका बुढाबुढी पनि सगरमाथालाई नजिकबाट नियाल्न हजारौं दुरी पार गर्दै लस्कर लागेर आएको देख्दा खुशी लाग्ने बताए ।
कुलुङले भने, ‘खुम्बु क्षेत्रमा थुप्रै पर्यटकीय पदमार्ग छन् । सगरमाथा आधार शिविरसम्मको यात्रा गर्दा मात्रै पनि सगरमाथा, लोत्से, नुप्छे, लोबुछे, पुमोरी, अमाडब्लाम लगायतका थुप्रै हिमाल र हिमश्रृंखलाको अवलोकन गर्न सकिन्छ । शेर्पा संस्कृति र विश्व प्रसिद्ध टेङबोछे गुम्बा, पाङ्बोछे गुम्बाको पनि अवलोकन गर्न सकिन्छ ।’
विश्वका पर्यटकहरुलाई आकर्षण गर्नसक्ने थुप्रै खजाना खुम्बुसँग रहेको उनले बताए । कुलुङले भने, ‘हामी देश विदेश घुम्ने सपना देख्छौं । आफ्नै देशको स्वर्गलाई भुलिरहेका छौं । हरेक नेपालीले एकपटक सोलुखुम्बु घुम्नैपर्ने ठाउँ हो ।’