कीर्तिमानी पर्वतारोही लाक्पाबारे लेखिएको पुस्तक सगरमाथा आधार शिविरमा सार्वजनिक

Advertisement

लुक्ला । बुक्स राईटिङ नेपाल प्रा. लि.द्वारा प्रकाशित विश्व कीर्तिमानी पर्वतारोही लाक्पा देन्डी शेर्पाबारे लेखिएको किताव सार्वजनिक भएको छ । 

शुक्रबार सगरमाथा आधार शिविरमा कार्यक्रमको आयोजना गर्दै ‘हिमालयन म्याभरिक’ नामक किताब विश्व कीर्तिमानी पर्वतारोही तथा माउन्टेन गाइड कामी रिता शेर्पा र बुक्स राईटिङ नेपालका अध्यक्ष बिनोद कुलुङले सार्वजनिक गरेका हुन् ।

Advertisement

शेर्पाले १० दिनमा ३ पटक विश्वको सर्बोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरि गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएका थिए । त्यसैगरी ५९ दिनभित्र विश्वकै पहिलो र दोश्रो सर्वोच्च शिखर सगरमाथा र केटुको सफल आरोहण गरेर दोश्रो पटक गिनिज बुक अफ वर्ल्ड रेकर्डमा आफ्नो नाम लेखाएका थिए । 

कामी रिता शेर्पाले कार्यक्रममा बोल्दै हिमालमा अनगिन्ती कथाहरू रहेको र ती कथाहरुलाई यसरी किताबको रूपमा लेखिनु निकै सुखद कुरा हो 
भने । उनले भने, ‘हिमाल आरोही शेर्पाहरु हिमाल आरोहणबाहेक पुस्तक लेखन, अध्ययन र किताब लेखन जस्ता बौद्धिक क्षेत्रमा निरन्तर अघि बढेको देख्न पाउनु मेरो अहोभाग्य हो ।’ हरेक आरोहीहरुले यसरी नै आफनो अनुभव लेखिराखे नयाँ आरोहीहरुलाई सजिलो हुने शेर्पाले बताए । 

त्यस्तै, विश्व कीर्तिमानी पर्वतारोही लाक्पा देन्डी शेर्पाले सोलुखुम्बुको दक्षिणपुर्वी भागमा पर्ने सानो शेर्पा गाउँ मामेर्कुको सामान्य किसान परिवारबाट, ट्रेकिङ क्षेत्रमा भरिया हुँदै हजारौं उतारचढाबका बीच यो किताबसम्म आइपुग्दा जीवन रङ्गिबिरङ्गी फूलहरुले रङ्गिएको बगैंचा झै लागेको बताए । 

बुक्स राईटिङका अध्यक्ष विनोद कुलुङले हिमाल आरोहणको क्षेत्रमा पर्दा पछाडी थुप्रै नेपाली हिरोहरु रहेको तर उनीहरुलाई नेपाली आफैंले विश्वसामु चिनाउन नसकेको बताए । उनले भने, ‘विदेशीहरुले आफ्नै हिसाबले ब्याख्या गरिरहे । ब्याख्याभन्दा पनि बढि अपब्याख्या भएको र भइरहेको जस्तो लाग्छ । हाम्रो कुरा हामीलाई भन्दा बढि विदेशीहरुलाई त पक्कै थाहा छैन । अनि हाम्रो यथार्थ कुरा हामी आफैंले लेखेर किन दुनियाँलाई नबताउने ?’

हिमालको कथा लेख्ने क्रममा पहिलो पात्रका रूपमा लाक्पा देन्डी शेर्पालाई पाएको कुलुङले बताए । उनकै कथाहरुलाई शेर्पा आरोहीहरुको प्रतिनिधि भोगाईको रूपमा हिमालयन म्याभरिक ल्याएको उनले बताए । हिमालयन म्याभरिक अमाजोन मार्फत पनि चाडै नै विश्वभर उपलब्ध हुने कुलुङले जानकारी दिए । उनले थुप्रै नेपाली विश्व कीर्तिमानी आरोहीहरुको पुस्तक विस्तारै बजारमा ल्याउने बताए । 

Advertisement

Advertisement