काठमाडौं । वि.सं. २००३ सालमा स्थापना भएको विश्व निकेतन माध्यमिक विद्यालयको निकै लामो इतिहास छ । यसै विद्यालयमा तीन दशक शिक्षा क्षेत्रमा बिताएका हेरम्बराज कँडेल प्रधान्याध्यापक छन् । विज्ञान विषयको शिक्षकको रुपमा विद्यालयमा आवद्ध भएका उनले विद्यालय तहको अध्ययनमा प्रथम स्थान हाँसिल गर्दै २०४२ सालको एसएसलसी परीक्षामा प्रथम श्रेणीमा उत्रिण भएका कंडेलले अमृत साइन्स क्याम्पसबाट आईएससी, बिएससी र केन्द्रीय वनस्पती विभाग कीर्तिपूरबाट एमएससीसम्मको अध्ययन पूरा गरेका छन् । उनले बिएड, बिएल समेत अध्ययन गरेका छन् ।
वि.सं. २०७२ सालदेखि विश्व निकेत माविको प्रधानाध्यापक रहेको कंडेलले जीवनमा कहिल्यै पनि शिक्षक बन्ने सोचेका थिएनन् । न योजना नै बनाएका थिए । तर उनले आफ्नो जीवन नै शिक्षा सेवामा समर्पित गरेका छन् । अकस्मान शिक्षण पेशा अंगाल्ने अवसर पाएका कंडेललाई आफू विज्ञान विषय विद्यार्थी भएकाले सोही विषयमा अध्यापन गर्न विज्ञानको विद्यार्थी भएकाले उनले सोही विषयमा अध्यापन गराउन उपयुक्त लाग्यो ।
‘जोगीलाई सिदा र विद्यार्थीलाई बिदा’ पाउँदा ‘हुर्रे’ भन्दै उफ्रिने चलन छ । कंडेलले आफू पनि उक्त उक्तीबाट अछुतो नरहेको बताउँछन् । चैत–बैशाखमा ठूलो हावाहुरी आउँदा पढ्न जानुनपर्ने कुराले आफू निकै खुशी हुने गरेको उनले आफ्नो विगत सुनाए । घरबाट लगेको चकटीमा बसेर पढेका उनी अहिले विद्यावारिधि गर्ने तयारीमा छन् । जोकोहीले प्राध्यापन पेशा अंगाल्न नसक्ने मान्यता राख्ने प्रध्यानाध्यापक कंडेलले कर्पोरेट नेपालसँग व्यक्त गरेका विचार जस्ताको तस्तैः
यति धेरै वर्ष पढाईसकेपछि मलाई के लाग्न थालेको छ ? भने पढाउन भन्दा पनि पढ्न सहज हुने रहेछ । विद्यार्थीहरुलाई अहिले पनि पढाउने चलन छ वास्तवमा पढाउने भनेको सिकाउने पनि हो रहेछ । विभिन्न पेशामा आवद्ध रहेका अल्छी, लज्जालु, चलाख सबै किसिमका विद्यार्थीहरुको क्षमता अनुसार उनीहरुको सीप विकास गर्नुपर्ने रहेछ । हामीले उहाँहरुलाई न्याय नै गरेका छौं ।
शिक्षकहरु अद्यावधिक हुनुपर्छ । प्रविधिमा पनि शिक्षकहरुले अहिले राम्रो ज्ञान राख्नुपर्ने समय आएको छ । कोरोना महामारीले भने शिक्षण पेशामा कालो बादलमा चाँदीको घेरा भने जस्तै भर्चुअल शिक्षालाई जोड दिन मद्दत गर्यो । अहिले पनि हाम्रा शिक्षकले प्रोजेक्टरबाट पढाउनुहुन्छ । विद्यार्थीहरुले पनि त्यसमा निकै रुची देखाएका छन् ।
हाल हाम्रो विद्यालयमा ४२ सय विद्यार्थी हुनुहुन्छ । करिब दुई सय शिक्षक तथा कर्मचारीहरु हुनुहुन्छ । हाल कम्प्युटर साइन्स, वातावरण विज्ञान, अर्थशास्त्र छन् । साथै प्लस टूमा विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकाय रहेका छन् ।
पोहोर साल मात्रै ५५० जना विद्यार्थीहरु निजी विद्यालय छाडेर हाम्रोमा आउनु भएको अवस्था छ । यही वैशाख तीन गतेको प्रवेश परीक्षामा पनि १४ सय विद्यार्थीहरुले सहभागिता जनाउनु भएको थियो ।
बच्चा भर्ना गर्न हाम्रोमा धेरैले अनुनय विनय गर्ने गरेका छन् । अहिले शिक्षकहरुको भूमिका बदलिएको छ । किनभने हाम्रो पालाको भूगोल अब गुगोल भएको छ । क्षमता र ज्ञानका लागि बच्चाहरुले एक क्लिकबाटै सबै जानकारी जुटाउन सक्ने भएका छन् । हाम्रो इ–पुस्तकालय छ भने नवीनतम् विधि प्रयोग गर्ने हाम्रो सदैव प्रयास छ । पहिला विद्यार्थीहरुले विद्यालयलाई जेल जस्तै सम्झन्थे भने अहिले सानोदेखि ठूलोले विद्यालयमा रमाउने अवस्था छ ।
अहिले हाम्रो विद्यालयमा बिग्रेका तारहरु हाम्रै विद्याथीले मर्मत गर्छन् । बाहिरबाट इलेक्ट्रिसियन बोलाउन पर्दैन । विश्व निकेतनमा अन्तभन्दा भिन्न शैली अपनाएर अध्ययन अध्यापन हुने भएकाले पनि यही विद्यालयमा ९० प्रतिशत शिक्षक शिक्षिकाका बच्चाहरु यहीं पढ्दै आएका छन् ।
अब सरकारी विद्यालयमा आकर्षण बढाउन यहाँका शिक्षक, कर्मचारीहरुले पनि ध्यान दिनुपर्ने बेला आएको छ । अहिलेसम्म सरकारी विद्यालय राजनीति गर्ने थालो बन्दै आएको अवस्था छ । प्रध्यानाध्यापक हाकिमको रुपमा बस्ने भन्दा पनि विद्यालयको सेवामा खट्ने पद रहेछ । त्यस्तै, कुनै पनि विद्यालयमा शिक्षक कर्मचारीहरुलाई पनि आफ्नै थप जिम्मेवारीहरु हुन्छन् ।
संविधानले भनेअनुसार विद्यार्थीलाई दिनुपर्ने अनुदान, सुविधामा हामीले कुनै पनि कन्जुस्याईं गरेका छैनौं । अहिले हाम्रोमा विद्यार्थीको संख्या धेरै छ भने त्यसको अनुपातमा शिक्षक संख्या कम छ । यसमा सरकार र सम्बन्धित पक्षको ध्यान जाओस् भन्न म चाहान्छु । हामी हाम्रा विद्यार्थीप्रति सन्तुष्ट छौं । यस वर्ष पनि सात जना विद्यार्थीले एमबिबिएसमा पूर्ण छात्रवृत्तिमा नाम निकालेका छन् । यो वर्ष ४० जनाभन्दा बढीको नाम निस्किएको छ । केदारभत्त माथेमा, रामशरण महत, डाक्टर अरुण सायमी जस्ता नाम चलेका व्यक्तिहरु यही विद्यालयमा पढेका हुन् । हामीले हाम्रा विद्यार्थीलाई प्रतिस्पर्धा गर्न, नझुक्न, नडराउन ,न्यायको लागि बोल्ने, अन्याय परेको बेला कुरा राख्नसक्ने बनाएका छौं ।
शिक्षा राम्रो हुनको लागि पूर्णरुपमा जवाफदेही समूह चाहिन्छ । उक्त समूहको प्रिन्सिपल क्याप्टेन हो । अब प्रिन्सिपलहरुले पूरा विद्यालय समेटेर लानसक्ने हुनपर्छ । कक्षा खाली हुनु भएन् । राज्यले पनि शिक्षकहरुप्रति उच्च मर्यादा, उच्च सम्मान गर्नुपर्छ ।
यो देशमा प्रहरी अस्पताल छ । तर, शिक्षक अस्पताल नहुनु विडम्बना पनि हो । शिक्षा क्षेत्रलाई सरकारले पनि प्रथामिकता दिनुपर्छ । अन्य देशहरुमा हेर्ने हो भने शिक्षा क्षेत्रमा कायापलट भएको अवस्था छ । सरकारले विद्यालयहरुलाई प्राथमिकतामा राखेर हेर्नुपर्छ । किनभने विद्यालय भनेको अन्य क्षेत्रको लिडर हो । यस क्षेत्रमा सरकारी आकर्षण अझै बढाउने किसिमले सरकारले आफ्ना योजनाहरु ल्याउन जरुरी छ ।