नाम्चे । खुम्बु गाउँपालिकाका वडा नम्बर ४ र ५ लाई सगरमाथाको प्रवेश द्धार मानिन्छ । वर्षेनी ठूलो संख्यामा स्वदेशी र विदेशी पर्यटक यस क्षेत्रमा भित्रिने गर्छन् ।
तर यस क्षेत्रमा आउने भनेको एक मात्रै माध्यम हवाइ मार्ग हो । मोटर बाटो नहुँदा विशेषगरी सिजनको बेला पर्यटकहरु जति भित्रिनुपर्ने हो, त्यति भित्रिन पाउँदैन् । तर अबको चार वर्षभित्र खुम्बु गाउँपालिकाको केन्द्रसम्म मोटर बाटो निर्माण गरिने भएको छ ।
होटल एशोसियशन नाम्चेका सल्लाहकार लामाकाजी शेर्पाले सडक बनेसँगै यस पालिकामा होटलहरुमा थप लगानी हुने विश्वास व्यक्त गरे । उनले भने, ‘यहाँ आउने ९० प्रतिशत पर्यटक जहाजको भर पर्नुपर्ने हुँदा पर्यटकहरु जति भित्रिनुपर्ने हो, त्यति आउन सकेका छैनन् । सडक बनिसकेपछि भने अबको चार वर्षपछि भने लगानीकाृ लागि नयाँ ढोका खुल्छ । यहाँ होटलहरुको संख्यामा वृद्धि हुन्छ जस्तो लाग्छ ।’
खुम्बुको नाम्चे र त्याङबोचेदेखि माथि सगरमाथा आधार शिविरसम्म ४ र ५ वडा पर्छ । यस क्षेत्रका पर्यटन व्यवसायीहरुले जति होटल, लजमा लगानी गरे पनि लगानी गरेअनुसार प्रतिफल उठाउन नसकेको बताउँछन् ।
यस क्षेत्रमा एउटा होटलमा लगानी गर्न कम्तिमा पाँच करोड रुपियाँ आवश्यक पर्ने र १५–२० वर्ष संघर्ष गर्नुपर्ने लामाकाजी शेर्पाले बताए । उनले थपे, ‘यस क्षेत्रको सबैभन्दा समस्या भनेको दुवानी हो । अबको चार वर्ष भित्रमा गाउँपालिका केन्द्रसम्म मोटर बाटोले छुने योजना बनेबाट शेर्पा खुशी छन् ।
मोटर बाटो बनेमा जहाजको भर पर्नुनपर्ने र पर्यटक आगमनमा वृद्धि हुने विश्वास उनले बताए । शेर्पाले विदेशी पर्यटकहरु पनि ६० प्रतिशत गाडीमा आउने, सँगै आन्तरिक पर्यटक पनि आउने, जसका कारण खुम्बु क्षेत्रमा चहलपहल बढ्ने बताए । उनले भने, ‘त्यसबाट यस क्षेत्रमा व्यवसायीले गरेको लगानी पनि उड्ने छ । व्यवसाय गर्न पनि सहज हुने छ । अगामी दिनमा लगानी पनि बढ्छ ।’
अहिले खुम्बु गाउँपालिकामा करिब ३५० वटा होटल रहेको अनुमान छ । कतिपय होटल तीन दशकभन्दा पूराना छन् ।
अहिले बुकिङहरु कस्तो छ ?
कोरोना महामारीका कारण सुस्ताएको खुम्बु क्षेत्रको पर्यटन व्यवसाय अहिले भने चम्किएको छ । लामाकाजी शेर्पाले भने, ‘एक–डेढ बर्र्षभूकम्पले र त्यसपछि कोभिड महामारीले यस क्षेत्रको पर्यटक आगमनमा नराम्रो असर पर्यो । अहिले वसन्त ऋतृमा भने यति राम्रो होटल बुकिङ हुन्छ । होटलहरु चल्छ भनेर सोचेकै थिएन । सोचेको भन्दा पनि राम्रो चलिरहेको छ । अहिले नाम्चेमा दिनमा करिब तीन सय विदेशी पर्यटक भित्रिरहेका छन्, आन्तरिक पर्यटकबाहेक ।’