नेपाल, भारत, भुटान र तिब्बतका ६० वटा हिमशिखरदेखि रेडपाण्डासम्म हेर्न पाइने सन्दकपुर

Advertisement

काठमाडौं । नेपालको पूर्वको इलाम एशियाको माझमा चीन र भारतको बिचमा हिमालको काखमा रहको सुन्दर हरियाली पहाडी जिल्ला हो । इलामका १० पालिकामध्ये सन्दकपुर गाउँपालिका पर्यटनको दृष्टिले राम्रो संभावना भएको गन्तव्यस्थल हो । अहिले यस ठाउँमा आउने आन्तरिक र विदेशी पर्यटकहरुको संख्या बढ्दा रहेको सन्दकपुर गाउँपालिका वडा नम्बर २ का अध्यक्ष सनम राईले बताए । 

उनका अनुसार गत वर्ष मात्र सन्दकपुर क्षेत्र घुम्न आउने पर्यटक २७ हजार थिए । यो संख्या यो बर्ष झन बढ्ने देखिन्छ । विषम हावापानी र रमणीय प्राकृतिक दृश्यावलोकन, चराचुरुङ्गी र जंगली जनावर, बहुमूल्य जडिबुटी, पुतली, विविध जातजाती, उनका कला र संस्कृति जस्ता कुराका कारण सन्दकपुर आकर्षक पर्यटकीयस्थल बनेको राईको तर्क छ । 

Advertisement

सरकारले सय वटा पर्यटकीय गन्तव्यस्थलहरुमध्ये सन्दकपुरको माईपोखरीलाई पनि लिएको छ । विश्वकै लोपोन्मुख रेडपाण्डा यही क्षेत्रमा पाइन्छ । यस क्षेत्रमा रेडपाण्डाको प्रजनन केन्द्र पनि निर्माण भइरहेको उनले बताए । राईले भने, ‘सन्दकपुरमा रहेका पिक प्वाइन्टहरुमा केही कठिनाई छ । सन्दकपुर डाँडामा माथि बस्न नेपालीहरुलाई अलिकति महंगो हुने गरेकाले गेस्ट हाउसहरु निर्माणको काम भइरहेको छ । हाम्रो योजना यही वर्षभित्र सञ्चालन गरेर पर्यटकहरुलाई सर्वसुलभ मूल्यमा सेवा दिने तयारी गरेका छौं । पहिला बिजुली थिइन् । बिजुली पुर्याउने काम भएको छ ।’

समुन्द्र सतहबाट नौ सयदेखि तीन हजार ६३६ मिटर उचाईसम्म फैलिएको सन्दकपुर गाउँपालिका, २८० फिट अग्लो माईमझुवाको नेपालको दोस्रो अग्लो टोड्के झरना, रेडपाण्डा, माइपोखरी यस क्षेत्रको आकर्षण हुन् । संरक्षण गर्न खोज्दा १० वटा मात्रै रहेको रेडपाण्डा अहिले बढेर ३० पुगेको बताउँदै राईले सामुदायक वनहरुमा जाँदा नै रेडपाण्डा देख्न सकिने बताए । 

उनले आफूहरुले सामुदायिक वनहरुमा पदमार्गहरु बनाइरहेको बताए । माइपोखरीमा पर्यटक सूचना केन्द्र स्थापना गरिएको छ । माइपोखरी आएका पर्यटकहरुलाई भिडियोमार्फत कसरी सन्दकपुर देखाउने ? भनेर एएटा हल पनि निर्माण गर्न लागिएको राईले बताए । अहिले कामचलाउ खालको सामान्य भवन मात्रै रहेको उनले बताए । 

सन्दकपुर क्षेत्र विश्वको एउटा मात्र यस्तो क्षेत्र हो जहाँबाट नेपाल, भारत, भुटान र तिब्बतका हिमालका ६० वटा चुचुरा लेख्न सकिन्छ । इण्डियाको पर्यटन बोर्डले पनि यो तथ्यलाई स्वीकार गरिसकेको उनले बताए । राईले हाँगेथाम जंगलमा मात्रै पाइने विश्वमै दुर्लभ स्पाइब्नी ब्याब्लर अर्थात काँडेभ्याकुर चराको अध्ययन अनुसन्धान गर्न वर्षेनी पंक्षीविदहरु आउने बताए । रेडपाण्डा, हाब्रे, थार, ध्वाँसे चितुवा, कालोभालु, चरिबाघ, राजपंखी, ठकठके लगायत जिवजन्तु र पंक्षी पाइने सन्दकपुरमा हाँगेथाम क्षेत्रमा अमेरिकी वन्यजन्तु विज्ञ ब्राइम विलियमले डेढ दशकअघि सात महिना रेडपाण्डाको गहिरो अध्ययन गरेको उनले जानकारी दिए । हाँगेथाम क्षेत्र पछिल्लो दिनमा वनभोज स्थल पनि सञ्चालन हुन थालेका छन् । 

Advertisement

Advertisement