नेपाली मुलका बेलायतीले १८ ठूला जहाजमार्फत काठमाडौंसहित विश्वभर उडान सेवा सुरु गर्ने

Advertisement

काठमाडौं । नेपाली मूलका बेलायती व्यवसायी दिपेन्द्र गुरुङले ‘हिमालय जेट’ नामक अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी स्थापना गरेका छन् । 

यस कम्पनीले लक्जरी प्वाइन्ट टू पोइन्ट उडान सेवा उपलब्ध गराउने गुरुङले बताए । गुरुङले ‘प्राइभ’ (विश्वभरका उच्चस्तरीय होटलहरूमा सञ्चालन हुने लक्जरी सिनेमा चेन) सञ्चालन गर्दै आएका छन् । 

Advertisement

कम्पनीले प्रारम्भिकरुपमा १८ वाइड बडी जहाजमार्फत विश्वका विभिन्न पर्यटकीय केन्द्र र शहरहरुमा उडान सुरु गर्ने जनाउँदै यस एयरलाइन्सको प्राविधिक केन्द्र बेलायत र अमेरिकामा रहने जनाएको छ ।  

गुरुङको कम्पनीले सर्वसुलभ भाडादरमा उडान सेवा सञ्चालन गर्ने पनि जनाएको छ । हिमालय जेटले लन्डन, म्यानचेस्टर, पेरिस, नाइस, रोम, मिलान र जुरिच, न्यूयोर्क, वासिङ्गटन डीसी, लस एन्जलस, मियामी, नयाँ दिल्ली, मुम्बई र काठमाडौंमा उडान गर्नेछ । 

गुरुङले आफू नेपाली मुलको भएकाले एयरलाइन्सको नाम ‘हिमालय’ राखेको जनाएका छन् । यस नामले नेपालको सगरमाथालगायत विश्वका अग्ला हिमशिखरहरुको प्रतिनिधित्व गर्ने उनको विश्वास छ । 

हिमालय जेटले विश्वका लाखौं मानिसहरूको छुट्टिको सपना पूरा गर्न सहयोग गर्ने भन्दै यस कम्पनीले आउँदो सेप्टेम्बर महिनाबाट यसको व्यापारिक उडान सञ्चालन गरिने जानकारी दिएको छ । 

हिमालय जेटको सुरुवात युरोपेली र अमेरिकी होलिडे निर्माताहरूका लागि ‘गेम चेन्जर’ हुने विश्वास व्यक्त गर्दै गुरुङले यस उडान सेवाको सुरुवातले उडान शुल्क अनुमानित ३० प्रतिशत सस्तो हुने र प्वाइन्ट टू प्वाइन्ट उडान, छिटो यात्राका साथ सूचीमा नयाँ गन्तव्यहरू थप्ने बताएका छन् । साथै, यसले विश्वव्यापी पर्यटन उद्योगमा पनि योगदान दिने विश्वास लिएका छन् । 

Advertisement

Advertisement