सगरमाथाको चुचुरोसम्मको बाँकी ‘रोप फिक्सिङ’ गर्न टिम क्याम्प-४ पुग्यो

Advertisement

काठमाडौं । जारी वसन्त ऋतुको आरोहणका लागि रोप फिक्सिङ (डोरी टाँग्ने काम)को बाँकी कार्य पूरा गर्न फिक्सिङ टिम बिहीबार सगरमाथा आधार शिविरबाट चुचुरोतर्फ प्रस्थान गरेको छ । 

क्याम्प–४ देखि सगरमाथा चुचुरोसम्मको बाँकी रोप फिक्सिङका लागि इमाजिन नेपाल ट्रेक्सको टोली सगरमाथा आधार शिविरबाट चुचुरोतर्फ प्रस्तान गरेको सो कम्पनीकी प्रबन्धक दावा फुुटी शेर्पाले जानकारी दिइन् । अहिले रोप फिक्सिङ टिम क्याम्प–४ पुगिसकेको उनको भनाई छ । त्यहाँको मौसम पनि अहिले ठिकै रहेको शेर्पाले जानकारी दिइन् । 

Advertisement

सगरमाथा आधार शिविरदेखि क्याम्प–४ (७९०० मिटर) सम्म ‘रोप फिक्सिङ’ यसअघि गत अप्रिल २३ मा नै सम्पन्न भइसकेको छ । वसन्त ऋतुका लागि सगरमाथाको क्याम्प–२ देखि चुचुरो सम्म ‘रोप फिक्सिङ’ गर्ने जिम्मा इमाजिन नेपाल ट्रेक्सले पाएको छ । टिमको नेतृत्व माउन्टेन गाइड दावा ग्याल्जे शेर्पाले गर्ने छन् । उक्त टिममा सगरमाथाको लागि आठ जना शेर्पाहरु रहेका छन् । साथै, ल्होत्सेको पनि रोप फिक्सिङको जिम्मा उक्त कम्पनीले नै पाएको छ । ल्होत्सेको लागि ४ जना शेर्पाहरु रहेका छन् । 

सगरमाथा आधार शिविरदेखि क्याम्प–२ सम्मको रोप फिक्सिङ सगरमाथा प्रदूषण नियन्त्रण समितिका आइसफल डाक्टरहरूको टिमले गरेको थियो । पर्यटन विभागका निर्देशक युवराज खतिवडाले बैशाख २९ गतेसम्म मौसम खराब देखाए पनि भोलि ३० गते भने सुधार आउने देखिएको बताए ।  

पर्यटन विमागले दिएको मे ८ तारिखको तथ्याङक अनुसार सगरमाथासहित २७ वटा हिमाल आरोहणका लागि ६५ मुलुकका एक हजार एक सय २३ जना आरोहीले पर्यटन विमागबाट आरोहण अनुमति लिएका छन् । अनुमति लिनेमध्ये ८६९ जना पुरुष र २५४ जना महिला छन् । उनीहरुबाट ७४ करोड छ लाख ४७ हजार २९० रुपियाँ रोयल्टी संकलन भएको छ ।

Advertisement

Advertisement