कीर्तिमानी पर्वतारोही आङरिताका नाति तेन्जिङले गरे ल्होत्से हिमालको सफल आरोहण

Advertisement

काठमाडौं । कीर्तिमानी पर्वतारोही आङरिता शेर्पाका नाति तेन्जिङ जाङ्बु शेर्पाले विश्वको चौथो अग्लो हिमाल ल्होत्से (८,५१६ मिटर) को सफल आरोहण गरेका छन् । 

हिमालयन शेफर्ड एक्स्पडिशन कम्पनीका निर्देशक कान्छीमाया तामाङका अनुसार कीर्तिमानी पर्वतारोही पेम्बा दोर्जे शेर्पासँगै तेन्जिङ जाङ्बु शेर्पाले हिजो बिहान ४ बजेर ३० मिनेटमा ल्होत्से हिमालको चुचुरोमा पुगेका थिए । 

Advertisement

२४ वर्षीय तेन्जिङले आफ्ना हजुरबुवाको पाइला पछ्याउँदै ल्होत्से हिमालको आरोहण गरेको र उक्त आरोहण आफनो हजुरबुवा ‘हिउँ चितुवा’ आङरितालाई समर्पण गरेका छन् । अमेरिकाको क्यालिफोर्निया स्टेटमा परिवारसहित बस्दै आएका तेन्जिङले हिउँ चितुवा आङरिता शेर्पाको स्मारकमा गत वर्ष सगरमाथाको  गत वर्ष सगरमाथाको सफल आरोहण गरेका थिए ।

ल्होत्से हिमालको आरोहण गर्नुअघि तेन्जिङले हिमालयन शेफर्डका प्रबन्ध निर्देशक पेम्बा दोर्जेसँग अप्रिल १८ मा माउन्ट अमा दब्लमको पनि सफलतापूर्वक आरोहण गरेका थिए । युवा पुस्तालाई हिमाली जीवनी बारे अध्ययन र अनुभव गर्न प्रेरित गर्न उनले ८ हजार मिटरभन्दा माथिका सबै १४ चुचुराहरू आरोहण गर्ने लक्ष्य राखेका छन् ।

आङरिता शेर्पाले सर्वोच्च शिखर सगरमाथाको बिना अक्सिजन दश पटक आरोहण गरी कीर्तिमान कायम गरेका थिए । उनले बनाएका कीर्तिमानका कारण पर्वतारोहण जगतले हिउँ चितुवाको उपनाम दिएको थिए ।

कलेजो सम्बन्धी रोगबाट पीडित भएपछि आङरिता शेर्पाले पर्वतारोहण त्यागेका थिए । सन् २०२० को २१ सेप्टेम्बरमा ७२ वर्षको उमेरमा शेर्पाको निधन भएको थियो ।

Advertisement

Advertisement