नीति कार्यक्रममा पर्यटनः सन् २०२५ लाई विशेष पर्यटन वर्षका रूपमा मनाउने घोषणा

Advertisement

काठमाडौं । सरकारले सन् २०२५ लाई विशेष पर्यटन वर्षका रूपमा मनाउने घोषणा गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको सरकारको आगामी आव २०८०/०८१ को नीति तथा कार्यक्रममा विशेष पर्यटन वर्ष मनाउने घोषणा गरेका हुन् । 

Advertisement

संवत् २०८० को दशकलाई नेपाल भ्रमण दशकका रूपमा मनाएर र सन् २०२५ लाई विशेष पर्यटन वर्षका रूपमा मनाइने नीति तथा कार्यक्रममा भनिएको छ । कोरोना महामारीबाट शिथिल बनेको मुलुकको पर्यटन विस्तारै लयमा फर्किरहेको छ । सन् २०२३ को हरेक महिना झण्डै प्रति महिना एक लाख विदेशी पर्यटक आइरहेका छन् ।

नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०२३ को चार महिनाको अवधिमा तीन लाख २६ हजार पाँच सय २७ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । यसअघि सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाएर वार्षिक २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित भ्रमण वर्षको शुभारम्भ गरे पनि महामारीका कारण उक्त कार्यक्रम स्थगित भएको थियो ।

पर्यटन ऐन समयानुकूल
पर्यटन ऐनमा समयानुकूल परिमार्जन गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । सूचीकृत पर्यटकीय गन्तव्यहरूको विश्‍वव्यापी प्रचार गरी अत्यावश्यक पूर्वाधारहरूको विकास, सुरक्षा प्रबन्ध र नयाँ पर्यटकीय गन्तव्यको विस्तारमा जोड दिइने छ ।

सातै प्रदेशमा नयाँ पर्यटकीय गन्तव्यहरूको पहिचान र विकास गरिनुका साथै एक प्रदेश एक सांस्कृतिक ग्रामको अवधारणा अघि बढाइने नीति कार्यक्रममा जनाइएको छ । प्रकृति र संस्कृतिको सम्मिश्रणलाई आधार बनाई विश्‍व पर्यटन बजारमा सबैका लागि सधैँका लागि आकर्षक गन्तव्यका रूपमा नेपालको ब्राण्डिङ गरिनेछ । आन्तरिक तथा बाह्‍य पर्यटन प्रवर्द्धन अभियान सञ्‍चालन गरिनेछ ।

नयाँ हिमाल खुल्ला गरिने
सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नयाँ हिमाल आरोहणका लागि खुल्ला गर्ने घोषणा गरेको छ । हिमाल आरोही तथा पदयात्री पर्यटकको सुरक्षा र आकस्मिक उद्धारको भरपर्दो व्यवस्था गरिने जनाइएको छ ।

साहसिक पर्यटनका नयाँ विधाहरूको प्रवर्द्धन गर्नुका साथै चलचित्र पर्यटनको विकास र विस्तार गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । अन्तर्राष्‍िट्रय चलचित्र छायाङ्‍कनका लागि नेपालका प्रमुख आकर्षकस्थललाई प्रवर्द्धन गरिनुका साथै अन्तर्राष्ट्रियस्तरमा चर्चित एवं लोकप्रिय व्यक्तित्वलाई आमन्त्रण गरी पर्यटन क्षेत्रको प्रवर्द्धन गरिनेछ ।

अन्तर्राष्ट्रियस्तरमा नेपालको भूगोल, कला, साहित्य, भाषा, संस्कृति र पर्यटनको प्रवर्द्धन गर्न उत्कृष्‍ट योगदान पुर्याउने विदेशी नागरिकलाई निजी क्षेत्रसँगको सहकार्यमा ‘सगरमाथा विशेष सम्मान’ प्रदान गरिनेछ ।

सार्वजनिक र निजी क्षेत्रको लागत साझेदारीमा संयुक्त प्रवर्द्धनात्मक कार्यक्रम सञ्‍चालन गरिनुका साथै हवाई सेवालाई सुरक्षित र गुणस्तरीय बनाउन सुरक्षासम्बन्धी मापदण्ड कडाइका साथ लागू गरिने जनाइएको छ । पशुपति तथा लुम्बिनीलाई धार्मिक, आध्यात्मिक एवं सांस्कृतिक धरोहर तथा विशिष्टीकृत अध्ययन केन्द्रका रूपमा विकास, संरक्षण र प्रवर्द्धन  गरिने नीति तथा कार्यक्रममा समेटिएको छ ।

वायुसेवा निगमको पुनःसंरचना गरिने
सरकारले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को पुनःसंरचना गर्ने भएको छ ।

सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा वायु सेवा निगमको पुनःसंरचना गरिने उल्लेख छ ।

आर्थिकरुपमा निकै कमजोर बनेको वायुसेवा निगमलाई व्यावसायिकरुपमा सबल बनाउदैँ बजार हिस्सा बढाउन सरकारले आवश्यक तयारी गरिहेको छ । आन्तरिक उडानलाई प्रभावकारी बनाउन थप जहाज खरिद गरेर गन्तव्य विस्तार गर्ने निगमको योजना छ । निगमसँग अन्तर्राष्ट्रिय उडानमा दुई थान वाईड बडी र दुई थान न्यारो बडी जहाज छन् । आन्तरिकमा हाल दुई थान ट्वीनअटर जहाजले सेवा दिइरहेको छ ।

राष्ट्रपति पौडेलले आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थल एवम् टर्मिनल भवनको स्तरोन्नती गरिने पनि बताए । उनले हवाइसम्बन्धी मापदण्ड कडाइको साथ पालना गर्नुका साथै निर्माण भएका अन्र्तराष्ट्रिय, क्षेत्रीय र आन्तरिक विमानास्थल पूर्णक्षमतामा सञ्चालन गर्ने नीति सरकारको रहेको उल्लेख गरे । 

नयाँ मुलुकसँग हवाई सम्झौता गरिने
सरकारले नयाँ मुलुकसँग हवाई सेवा सम्झौता गर्ने योजना बनाएको छ । सरकारको आगामी आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रममा नयाँ मुलुकसँग हवाई सम्झौता गर्ने घोषणा गरिएको हो ।

राष्ट्रपति पौडेलले मुलुकमा निर्माण सम्पन्न भएका अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्णक्षमतामा उपयोग गर्न नयाँ मुलुकसँग हवाइ सम्झौता गरिने बताए ।  नेपालले हालसम्म विभिन्न ४० मुलुकसँग हवाई सेवा सम्झौता गरेको छ । पछिल्लो पटक अष्ट्रेलियासँग हवाई सेवा सम्झौता भएको थियो । राष्ट्रपति पौडेलले नयाँ मुलुकसँग हवाई सम्झौता गरी नेपाली वायुसेवा कम्पनीको अन्तर्राष्ट्रिय बजार विस्तार गरिने बताए । 

एक वर्षअघि सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पाँच महिनादेखि सञ्चालनमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले राम्रो विजनेश पाउन सकेका छैनन् । गौतमबुद्ध विमानस्थलमा आगामी जेठ २९ देखि नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले मलेसिया–भैरहवा–काठमाडौँ नियमित उडान गर्दैछ । कुवेतको जजीरा एयरले एकवर्षदेखि यो विमानस्थलमा उडान गरिरहे पनि विभिन्न समस्या देखाउँदै उडान स्थगन गर्दै आएको छ । पछिल्लो पटक एक महिनादेखि जजीराले उडान स्थगित गरेको छ ।

यस्तै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल विसं २०७९ पुस १७ गते उद्घाटन भएको थियो । यो विमानस्थलबाट अहिलेसम्म अन्तर्राष्ट्रिय उडान हुनसकेको छैन । पोखरा विमानस्थलबाट छिट्टै चीनका विभिन्न शहरमा चार्टर्ड उडान हुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

निर्माण सम्पन्न भएका विमानस्थललाई पूर्णक्षमतामा सञ्चालनमा ल्याइने, निजगढ विमानस्थलको निर्माण प्रक्रिया अघि बढाउने सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

Advertisement

Advertisement