ठमाडौं । विश्व कीर्तिमानी पर्वतारोही कामिरिता शेर्पाले सर्वोच्च शिखर सगरमाथा २८औं पटक आरोहण गरेका छन् ।
उनी गत जेठ ३ गते बुधबारमात्रै २७औं पटक आरोहण गरेर बनाएको आफ्नै रेकर्ड तोड्न सफल भएका हुन् ।
शेर्पाले आज बिहान ९ बजेर २३ मिनेटमा २८औं पटक सगरमाथाको चुचुरोमा पुगेका सेभेन समिट ट्रेक्सले जनाएको छ ।
खुम्बु पासाङल्हामु गाउँपालिकाको थामेका ५३ वर्षीय कामिरिता शेर्पाले सबैभन्दा धेरै पटक सगरमाथा आरोहणसँगै आठ पटक चो ओयु, तीन पटक मनास्लु, एक पटक ल्होत्से, एक पटक केटु गरी ३९ पटक विश्वका अग्ला हिमालहरुको आरोहण गरिसकेका छन् ।
यसअघि उनले तीन सिजनमा दुई–दुई पटक सगरमाथा आरोहण गरिसकेका छन् । शेर्पाले चुचुरोसम्म डोरी टाँग्ने जिम्मेवारी पनि पाएकाले सन् २००९, २०१० र २०१३ मा एकै याममा दुई पटक सगरमाथा चढेका थिए । साथै २०१९ मा ६ दिनमा २ पटक, २०२१ र २०२२ मा क्याम्प–२ देखि सगरमाथाको चुचुरो सम्म डोरी टाँग्न नेतृत्व गरेका थिए । उनले सेभेन समिट ट्रेक्सको टिमलाई नेतृत्व गर्दै सगरमाथाको ओरोहण गरेका हुन् ।
सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथा चुचुरो चुमेका उनको नाममा ८ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान समेत रहेको छ ।