असारसम्म मर्जमा जाने वाणिज्य बैंकले सुबिधा पाउने, यस्तो छ राष्ट्र बैंकको नयाँ निर्देशन

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी असार मसान्तभित्र वाणिज्य बैंकहरु मर्जमा गई एकीकृत कारोबार सञ्चालन गर्दा विभिन्न ६ वटा सुविधा दिने भएको छ । 

गत पुस मसान्तसम्म एकीकृत कारोबार सञ्चालन गर्न नसकेका वाणिज्य बैंकहरुलाई राष्ट्र बैंकले आज क, ख र  ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुका लागि जारी गरिएको एकीकृत निर्देशन २०७९ मा संशोधन गर्दै तोकिएको क्षेत्रमा कर्जा प्रवाह गर्ने अवधि १ वर्ष थप गर्नेसहित विभिन्न ६ प्रकारका सुविधा दिने उल्लेख गरेको हो । 

Advertisement

एकीकृत कारोबार सञ्चालन गरेको मितिमा कर्जा निक्षेप अनुपातले सीमा नाघेको अवस्थामा सो नियमित गर्न ६ महिनाको समय दिने, सञ्चालक समितिका सदस्य र उच्च पदस्थ कर्मचारी पदबाट हटेको कम्तिमा ६ महिना व्यतीत नभई यस बैंकबाट इजाजतपत्रप्राप्त अन्य संस्थामा आबद्ध हुन नपाउने विद्यमान प्रावधानमा छुट प्रदान गरिने, गाभ्ने’गाभिने तथा प्राप्तिमा संलग्न संस्थामा साविकमा कायम रहेको भिन्न ब्याजदरका कारण एकीकृत कारोबार गर्दाका बखत ब्याजदर अन्तर यस बैंकले तोकेको सीमाभन्दा बढी भएमा ब्याजदर अन्तरलाई तोकिएको सीमाभित्र ल्याउन एक वर्षको समय प्रदान गरिने राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ । 

त्यसैगरी राष्ट्र बैंकबाट तोकिएको प्रति संस्था निक्षेप संकलन सीमामा एक वर्षसम्म ५ प्रतिशत बिन्दुले थप गरिने र एकीकृत कारोबार सञ्चालनको क्रममा एक किलोमिटरको दूरीमा सञ्चालनमा रहेका शाखा कार्यालयहरु मध्ये कुनै एक शाखा कायम राखी सोही दूरी भित्रका अन्य शाखा गाभ्न वा बन्द गर्न एक वर्षसम्म स्वीकृति आवश्यक नपर्ने जनाएको छ ।

 

Advertisement

Advertisement