काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले बार्षिक साधारणसभाको मिति तय गरेको छ । कम्पनीले आउँदो असार १५ गतेका सभा गर्न लागेको हो । साधारण सभाकै लागि असार ७ गते कम्पनीको बुक क्लोज हुनेछ ।
कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट आफ्नो शेयरधनीलाई ४.७५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव सभामा पेश गर्दैछ । सभामा असार ६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।
अहिले नेपाल पुनर्बीमाको चुक्ता पुँजी १२ अर्ब २३ करोड २५ लाख रुपियाँ रहेको छ । प्रस्तावित बोनस शेयर वितरण भएमा चुक्ता पुँजी १२ अर्ब ८१ करोड रुपियाँ पुग्नेछ । कम्पनीमा सरकारको ४४ प्रतिशत, सर्वसाधारणको १६ प्रतिशत र बाँकी बीमा कम्पनीहरुको शेयर छ ।