काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा साधारण शेयर (आईपीओ) निष्काशन गरेपछि तोकिएको न्यूनतम् चुक्ता पूँजी (रु. पाँच अर्ब) पुर्याउन बोनस शेयर दिनसक्ने बाटो खुल्ने देखिएको छ ।
कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्काशनपछि तोकिएको पुँजी पुर्याउन बोनस शेयर नै उपयुक्त विकल्प देखिन्छ । कम्पनीले तोकिएको पुँजी पुर्याउन करिव २५ प्रतिशत बोनस शेयर वितरण गर्नुपर्ने हुन्छ ।
यही आउँदो असार १ गतेदेखि वैदेशिक रोजगारीमा गएका नेपाली र असार २० गतेदेखि सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन गर्न लागेको आईएमई लाइफले सर्वसाधारण समूहको एक करोड २० लाख कित्तामध्ये छ लाख कित्ता कर्मचारीहरुलाई आधार मूल्यमै बिक्री गर्नेछ । त्यस्तै, बाँकी एक करोड १४ लाख कित्ता शेयर प्रतिकित्ता २३६.९१ रुपियाँको दरमा प्रिमियम मूल्यमा निष्काशन गर्ने छ ।
प्रिमियम मूल्य १३६.९१ रुपियाँको दरले एक करोड १४ लाख कित्ता शेयर बिक्री गर्दा एक अर्ब ५६ करोड रुपियाँ आर्जन हुने अनुमान छ । आईपीओ निष्काशनपछि चुक्ता पूँजी चार अर्ब रुपियाँ पुग्नेछ । कम्पनीले न्यूनतम् चुक्ता पूँजी पाँच अर्ब रुपियाँ जुटाउन थप एक अर्ब रुपियाँ आवश्यक पर्नेछ ।
सोही आवश्यकता पूरा गर्न कम्पनीले कम्तिमा २५ प्रतिशत बोनस शेयर वितरण गर्नसक्ने देखिन्छ । अहिले नै कम्पनीको वित्तीय विवरणलाई आधार मान्ने हो भने कम्पनीको जगेडा कोषमा थप एक अर्ब रुपियाँ भन्दा धेरै रकम छ ।
अहिलेको अवस्थामा पनि दोस्रो बजारमा जीवन बीमा कम्पनीको शेयर मूल्य कम्तिमा पनि ४७४ रुपियाँ रहेको छ । यदि प्राथमिक शेयरधनीले कम्तिमा पनि प्रतिकित्ता ४५० रुपियाँको दरले प्राप्त भएको २५ कित्ता बोनस शेयर बिक्री गर्यो भने यसबाट उसले ११ हजार २५० रुपियाँ प्राप्त गर्छ । बोनस शेयर बिक्री भएपछि प्राथमिक शेयरधनीको लागत १२ हजार ३६१ रुपियाँमा झर्छ ।
यदि भोलिका दिनमा बढ्दो बजारमा शेयर बिक्री गर्न सकियो भने लगानीकर्ताले प्राथमिक बजारमा गरेको लगानीलाई सजिलै उठाउन सकिने जानकारहरु बताउँछन् । त्यसमा पनि २५ प्रतिशत बोनस शेयर दिने भएपछि कम्पनीको शेयर मूल्य दोस्रो बजारमा राम्रै अवस्थामा रहने अनुमान गरिएको छ । विगत ५–६ वर्षदेखिको मुनाफा जगेडा कोषमा सञ्चित हुँदै आएको हुँदा आगामी वर्षमा शेयरधनीहरुले राम्रै लाभांश पाउने सम्भावना रहेको छ ।