पूर्वमा बाढीले भएको जनधनको क्षतिबारे संसदमा आवाज, थप सुरक्षाकर्मी पठाउन माग

Advertisement

काठमाडौं । नेपाली काँग्रेसका सांसद दीपक खड्का र नेकपा एमालेका साँसद योगेश भट्टराईले संखुवासभा, तेह्रथुम, ताप्लेजुङ, पाँचथरलगायतका पूर्वी पहाडी जिल्लाहरुमा गएको आएको बाढी पहिरोबारे सरकारको ध्यानाकर्षण गराएका छन् । 

संसदमा आइतबार बोल्दै उनीहरुले अविरल वर्षापछि गएराति आएको बाढी र पहिरोले ठूलो धनजनको क्षति भएको उल्लेख गर्दै पीडितलाई तत्काल उद्धार, राहत, क्षतिपूर्तिको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरे । 

Advertisement

सांसद खड्काले संखुवासभाको सुपर हेवा जलविद्युत आयोजनामा काम गर्ने १६ जना मजदुर वेपत्ता भएको र उनीहरु मध्ये ३ जना फेला परेको, एक जना मृत अवस्थामा भेटिएको उल्लेख गर्दै वेपत्ता भएका अन्यको खोजी कार्यमा तीव्रता दिन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए । 

सो घटनामा परी खर्बाैंको नोक्सान भएको उल्लेख गर्दै खड्काले उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि सरकारलाई सचेत गराए । उनले सो घटनाका परी वेपत्ता भएकाहरुको उद्धार र राहतको काममा सहयोग गर्न सबै राजनीतिक पार्टीहरुलाई आग्रह समेत गरे । 

खड्काले भने, ‘संखुवासभा, तेह््थुम, ताप्लेजुङ, पाँचथरलगायत पूर्वी पहाडमा गएराति अविरल वर्षाका कारण ठूलो धनजनको क्षति भएको छ । खास गरेर संखुवासभामा अहिले यो सुपर हेवामा काम गर्ने मजदुरहरु १६ जना वेपत्ता भएको, ३ जना फेला परेको र १ जना मृत फेला परेको अवस्था छ । यसबाहेक पनि विभिन्न ठाउँमा मान्छे हराईराखेको सूचना आएको छ । उद्दार कार्यमा जाने सुरक्षाकर्मीहरु, राजनीतिक दलका नेताहरुले सम्बन्धित ठाउँमा पुगिनसकेको अवस्था छ । र, थुप्रै हाइड्रो पावरहरु सुपर हेवा, मेन्छेम जस्ता हाइड्रोपावरहरु पूर्ण रुपले क्षति हुँदा दुई वटा पक्की पुल र एउटा झोलुंगे पुल बगाएको छ ।’ 

उनले थपे, ‘अरु अहिले छानविनको क्रममा छ । कति क्षति भयो भनेर अनुमान गर्न सकिन्न । खर्बौैको क्षति भयो आँकडा आइराखेको छ । र, बगरमा रहेका सम्पूर्ण खेतीबालीहरु नष्ट भएको छ । ११ घर परिवार विस्थापित भएर घर बगाएको अवस्थामा छ । र, यो विपदको घडीमा संखुवासभा लगायत यो क्षतिग्रस्त जिल्लाहरुमा नेपाल सरकारले तत्कालै उद्धार, राहत र सहयोग पु¥यायोस् भनेर सम्मानिय प्रधानमन्त्रीलाई पनि आज बिहान हामीहरुले भेटेरै निवेदन गरेका छौं ।’ 

संखुवासभा र पहाडी जिल्लाका सुरक्षाकर्मीहरुले मात्रै यो क्षतिलाई उद्दार गर्न नसक्ने भएकाले चाँडोभन्दा चाँडो सरकारले थप सुरक्षाकर्मी खटाउनुपर्ने खड्काले बताए । उनले क्षतिलाई न्यूनीकरण गरी क्षतिपूर्ति र राहत उपलब्ध गराईदिन पनि आग्रह गरे । 

खड्काले थपे, ‘यी सबै जिल्लामा अनुमान गरिएको भन्दा ठूलो क्षति भएको छ । र, सबै पूर्वी पहाडका जिल्लाहरुमा वर्षाले गराएको क्षतिपूर्ति गहिरो चिन्ता व्यक्त गर्दै अहिले खोजी कार्य जारी भएकाले सबै राजनीतिक पार्टीहरुलाई पनि हामीले आग्रह गरेका छौं । यो माननीय उद्धार कार्यमा संलग्न भईदिन सम्माननीय सभामुखमार्फत नेपाल सरकारको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छु ।’

सांसद भट्टराईले पूर्वमा बर्षातसँगै गएराति आएको बाढि र पहिरोबाट भएको क्षतिबारे संसदलाई जानकारी गराउन सरकारसँग माग गरे । उनले संखुवासभा, ताप्लेजुङलगायतका जिल्लाहरुमा बाढी र पहिरोबाट ठूलो धनजनको क्षति भएको उल्लेख गर्दै घटनाबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले संसदलाई जानकारी गराउनुपर्ने बताए । 

भट्टराईले सो घटनाका पीडितलाई राहत र उद्धार कार्यमा ढिलाई नगर्न पनि सरकारलाई सचेत गराए । उनले सो घटनाका कारण क्षतिग्रस्त पूल, सडक सुचारु हुनेगरी आवश्यक व्यवस्था मिलाउन पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ध्यानाकर्षण गराए । 

भट्टराईले भने, ‘म सभामुख महोदयमार्फत् सरकारको यस विषयमा ध्यानाकर्षण गर्न चाहन्छु । विशेषगरी यो स्थितिको सम्पूर्ण जानकारी यो सम्मानित सदनमा सरकारको तर्फबाट संसदलाई जानकारी होस भनेर म माग गर्न चाहान्छु । यो विपदसँग सम्बन्धित भएको हुनाले गृहमन्त्रीजीले यसको सम्पूर्ण अवस्थाको जानकारी यो सदनमा गराउनु पर्छ भन्ने गृहमन्त्रीजीको म ध्यानाकर्षण गर्न चाहान्छु ।’

 त्यसैगरी पुल, सडकहरु क्षति पुगेका छन । त्यसको तत्कालको अवस्था के छ ? भौतिक पूर्वाधार मन्त्रीजीले यस विषयमा सदनमा जानकारी दिन सभामुख महोदयमार्फत माग गर्न चाहन्छु । र, तत्कालै बेलिब्रिजहरुको व्यवस्था गरिकन, झोलुंगे पुलहरुको व्यवस्था गरिकन आवागमनलाई सहज बनाउनका लागि पनि म सभामुख महोदयमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । भत्किएका सडकहरुलाई तत्काल सूचारु गर्नुपर्ने अवस्था छ । त्यसको पनि म ध्यानाकर्षण गराउन चाहन्छु । र पीडितहरुलाई आवास र खाद्यान्नको संकट छ । त्यसैले आवश्यक र खाद्यान्नको तत्काल व्यवस्था मिलाउन नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । विपदको क्षेत्राम काम गर्ने रेडक्रशसहितका अन्तराष्ट्रिय संघ, संस्थाहरुलाई पीडितहरुलाई राहत उपलब्ध गराउनका लागि आग्रह गर्न चाहन्छु ।’

सचिव भट्टराईको पीडितहरुको राहत र उद्धार कार्यक्रममा जुटन रेडक्रशलगायतका अन्तर्राष्ट्रिय संघ, संस्थाहरुलाई आग्रह गर्नु भयो ।

Advertisement

Advertisement