‘संसदका कर्मचारीले खाजा भत्ता पाउने, १२ घण्टा खटिने मर्यादापालकले नपाउँदा लाज लाग्यो’

Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले संसद भवन भित्रै भएको बेथितिबाट आफूलाई लज्जाबोध भएको टिप्पणी गरेका छन् । 

मंगलबार प्रतिनिधिसभा बैठकमा उनले संसद सचिवालयका कर्मचारीलाई खाजा भत्ता समेत हुने तर १२ घण्टा काममा खटिने मर्यादापालकको पनि एक पैसा पनि भत्ता नहुने विभेदले आफूलाई लज्जाबोध गराएको बताए । 

Advertisement

ढकालले संसद सचिवालयमा छानो टाल्नका लागि आएको पैसा र डिप बोरिङका लागि निकासा भएको रकम खर्च नभएकाले त्यसको छानविन गर्न सरकार र सम्बन्धित निकायसँग माग गरे । उनले भने, ‘बेथितिका कुराहरु गरिरहँदा मित्र राष्ट्र चीन सरकारले बनाई दिएको यो विल्डिङ शहरी विकास मन्त्रालय अन्तरगत पर्दछ । यो बिल्डिङको बेथितिको कुरा उठाउँदैछु । शहरी विकास मन्त्रालयका छानो टाल्नलाई बजेट आउँदो रहेछ । यो वर्ष पनि चुहिन्छ । यही कम्पाउण्डभित्र पानीको समस्या समाधान गर्न डिप बोरिङ खोलिएको रहेछ । पानी आउँदैन, भुक्तानी भएछ ।’ 

ढकालले थपे, ‘यहींभित्र संसद सचिवालयका कर्मचारीहरुको खाजा भत्ता छ । मर्यादापालक दाजुभाई, दिदीबहिनीहरुको १२ घण्टासम्म यहाँ ड्यूटी गर्नु हुन्छ । उहाँहरुलाई एक रुपैयाँ पनि भत्ता छैन । यो विभेद, यही भित्र भएको विभेद, बेथिति, आँखा अगाडिको यो बेथिति हेरिरहँदा चाँही लज्जाबोध हुन्छ । म सरकार र सम्बन्धित पक्षको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छु ।’

Advertisement

Advertisement