ढिलो गरी जलहरीको तौल लिन पशुपति पुग्यो अख्तियार टोली

Advertisement

काठमाडौँ । पशुपतिनाथ मन्दिरमा जलहरी राख्दा भ्रष्टाचार भएको महालेखापरीक्षकको कार्यालयले आफ्नो प्रतिवेदनमा औंल्याएको निकै लामो समयपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग आइतबार जलहरीको तौल लिन पशुपतिनाथ मन्दिर पुगेको छ । 

आज अपरान्ह पुगेको टोलीले जलहरीको तौल लिनका लागि भन्दै पशुपतिनाथ दर्शन गर्न लाइन बसेका श्रद्धालुहरुलाई हटाएर पशुपति बन्द गरेर तौल लिएको हो । 

Advertisement

तत्कालिन प्रधानमन्त्री केपी ओलीले पशुपतिको जलहरी फेर्नुपर्ने भन्दै त्यसका लागि सरकारले समेत पशुपति विकास कोषलाई पैसा दिने निर्णय सुनाएका थिए । उनकै कार्यकालमा सुनको जलहरी राख्न सरकारले नेपाल राष्ट्र बैंकबाट १०३ किलो ७७३ ग्राम सुन ८० करोड १११ हजारमा किनेको थियो । उक्त सुनमा तामा दुई किलो ८९० ग्राम, चाँदी एक किलो २४९ ग्राम, जिंक १२.७५ ग्राम प्रयोग गरेपछि जलहरीको तौल १०७ किलो ९२४.७५ ग्राम कायम भएको थियो ।

जलहरी, जलधारा, नाग, नागमूर्ति, सुनको किलालगायतमा प्रयोग भएको सुनको तौल ९६ किलो ८२२ ग्राम रहेको र बाँकी रहेको सुन १० किलो ९७६ ग्रामको रिङ बनाइ जलहरीमा लगाएको दाबी कोषले गर्दै आएको छ । तर महालेखाले भने सो दावीलाई अस्वीकार गर्दै १० किलो सुन गायव बनाइएको प्रतिवेदनमा नै औंल्याएको थियो । 

यसरी सुन लुकाउँदा सात करोड ८६ लाख ४६ हजार हिनामिना भएको महालेखाको आशंका छ । अख्तियारको टोलीले अब कसरी यो तथ्यलाई बाहिर ल्याउँछ ? सबैको चासोको विषय बनिरहेको छ । 

Advertisement

Advertisement