कमलादीमा दुई अर्ब लगानीमा तयार स्काइवाक आजदेखि सञ्चालनमा, तर शुल्क नै चर्को

Advertisement

काठमाडौं । राजधानीको कमलादीमा निर्माण गरिएको स्काइवाक (भ्यु टावर) आज शुक्रबारदेखि सञ्चालनमा आएको छ । दुई अर्ब रुपियाँ लगानीमा निर्माण गरिएको यो परियोजना साहसिक पर्यटकीय केन्द्रको रुपमा सर्वसाधारणको लागि खुल्ला गरिएको छ । 

दुई बर्षभित्र निर्माण सम्पन्न गर्नेगरी २०७६ सालमा निर्माण सुरु गरिएको यो भ्यु टावरमा गैरआवासीय नेपालीहरुको समेत लगानी रहेको छ । वन्डर्स ग्रुप प्रा.लि.का अध्यक्ष आकर्षण पोखरेलले कोरोना महामारीका कारण निर्माणमा केही ढिलाई भएको बताए । 

Advertisement

कुल १३ रोपनी दुई आना जग्गामा फैलिएको स्काइवाक ७८.५ मिटर अग्लो छ । तर जमिनको सतहबाट ६५ मिटर उचाइमा सिसामा हिंड्न, काठमाडौंको रमणीय दृश्यावलोकन गर्न सकिन्छ । यस किसिमको अग्लो र फरक टावर नेपालमा पहिलो पटक निर्माण भएको हो । 

कुल २५ तल्ला रहेको टावरमा २२ तलासम्म लिफ्ट चढेर र बाँकी तीन तल्लामा सिंढीमार्फत माथि जान सकिन्छ । दुई वटा लिफ्ट सुविधा रहेको टावरमा एक पटकमा ४५ जनाभन्दा धेरै मानिस तलमाथि गर्न सकिन्छ । 

टावरको २५ औं तल्ला साहसिक तल्ला हो । त्यहाँ माथि पुगेपछि पयटकहरुले सिसा ओच्छाइएको भुइँमा हिड्न पाइन्छ, जहाँ खुला आकाशमा हिँडे जस्तै अनुभव हुन्छ । 

स्काइवाकमार्फत हेर्दा रानीपोखरी र घण्टाघर टावरको आँगनमै रहेको जस्तो अनुभव हुनुका साथै साहसिक खेल खेल्न रुचाउनेहरूको लागि थप मज्जा दिने पोखरेलको भनाई छ । सो ठाउँमा एक पटकमा पाँच सय सय मानिस अट्नेछन् । 

त्रिभुवन विमानस्थलमा जहाजहरु उडान र अवतरण गरेको दृश्य समेत अवलोकन गर्न सकिने स्काइवाकमा जानका लागि प्रतिव्यक्ति एक हजार शुल्क तिर्नुपर्छ, जुन आम नेपालीका लागि निकै चर्को शुल्क हो । स्काइवाक भएको २५ औं तल्लाभन्दा माथि जानेहरुलाई सुरक्षा सामग्री प्रयोग अनिवार्य गरिएको छ भने थप एक हजार शुल्क तोकिएको छ । 

टावरमा प्रवेश गर्नका लागि ८० वर्ष माथिका ज्येष्ठ नागरिक र तीन फिट उचाइसम्मका बालबालिकालाई शुल्क नलाग्ने पोखरेलले बताए । त्यस्तै, ७० देखि ८० वर्षसम्मका ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । 

टावरमा हिँड्नका लागि प्रयोग गरिएको सिसा बेलायती मापदण्डको भएको बताउँदै उनले सिसा उच्च गुणस्तरको भएकोले ढुक्कसँग हिंड्न सकिने बताए । टावरको २३ र २४ औँ तल्लामा रेष्टुरेन्ट र क्लब रहेको छ, जहाँ एकैपटक तीन सय मानिसले सेवा लिन सक्नेछन् । 

स्काइ वाक टावरको कम्पाउण्डमा एम्पि थिएटर र फास्ट फुड रेष्टुरेन्ट रहेको छ, जहाँ शुक्रबार र शनिबार सांगीतिक कार्यक्रम गरिने जनाइएको छ । रेस्टुरेन्ट र एम्पि थिएटरमा जान शुल्क लाग्दैन ।

स्काइ वाक शुरूवाती दिनमा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन हुनेछ । यस टावरमा केही समयमा नै बञ्जी, स्विङ जस्ता अन्य साहसिक खेलहरू राख्ने तयारीमा रहेको समेत पोखरेलले जानकारी दिए ।  

कम्पनीको सञ्चालकमा पोखरेलसहित, तेजबहादुर सिंह, खेमराज न्यौपाने, पदम न्यौपाने, आशुतोष विक्रम सिंह र सोहन श्रेष्ठ छन् । यसबाहेक अन्य करिब पाँच दर्जन साथीहरूले यो परियोजनामा लगानी गरेका हुन्।

जापानमा इन्जिनियरिङ अध्ययनपछि भ्यु टावर बनाउन नेपाल आएका आकर्षण पोखरेल र उनको समूहले यसअघि इलामको कन्याममा यसअघि नै स्काइवाक चलाइसकेको छ भने धनकुटाको भेडेटारमा नयाँ स्काइवाक बनाउने तयारी गरिरहेको छ । उनीहरुले लुक्लादेखि चेदिङसम्म पाँच किलोमिटरको दूरीमा केवलकार सञ्ञ्चालन गर्न अध्ययन पनि गरिरहेको छ । 

Advertisement

Advertisement