गृह मन्त्रालयबाट राम्रो सहयोग मिले पनि अन्य निकायबाट भनेअनुसारको सहयोग भएन्ः आईजीपी

Advertisement

काठमाडौं । प्रहरी महानिरीक्षक वसन्त कुँवरले वर्तमान राजनीतिक नेतृत्वबाट प्रहरीलाई काम गर्न सहज रहेको दावी गरेका छन् । 

शुक्रवार प्रहरी प्रधान कार्यालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले अहिलेको सरकार संगठन रुपान्तरण र विकास गर्ने हकमा राम्रो रहेको बताए । कुँवरले साधन श्रोतको कमी, देशको आर्थिक अवस्था कमजोर भएका कारणले प्रहरी प्रशासनलाई केही कठिनाइ भएको पनि बताए । 

Advertisement

उनले जिल्लाबाटै साइबर अपराधको मुद्दा निक्र्यौल गर्ने सरकारको निर्णयले थप सहयोग पुगेको बताउँदै प्रहरी प्रशासनलाई बलियो बनाउनका लागि गृह मन्त्रालयबाट राम्रो सहयोग मिलेपनि अन्य निकायबाट भने भनेअनुसारको सहयोग नपाएको गुनासो गरे । 

कुँवरले प्रहरी समायोजनको विषय सरकारले तोकेको समयमा नै हुने विश्वास रहेको र सरकारको निर्णयमा आफूहरु कार्यान्वयनका लागि तयार रहेको बताए । उनले भने, ‘अहिलेको राजनीतिक नेतृत्वबाट प्रहरीलाई कामकाज गर्न सजिलो छ । प्रहरीले आफ्नो कार्य सम्पादन गर्नसक्छ । समग्र रुपमा संगठन रुपान्तरण र विकास गर्ने हकमा वातावरण राम्रो छ । त्यो वातावरण अहिलेको राजनीतिक नेतृत्वबाट प्राप्त भएको छ । अहिले चुनौति त धेरै छन् । अहिले हामीसँग साधनश्रोत छैन् । राष्ट्रको ढुकुटी रित्तिएको छ । तर पनि पैसा बिना केही हुँदैन । त्यसकारण पसा नलाग्ने कुरामा कसरी गर्न सकिन्छ र सामान्य नीतिगत निर्णय गरैर गर्नसक्ने कुरा के छन् भन्नेकुरा हो ।’ 

कुँवरले थपे, ‘तर नीतिगत निर्णय गर्दा संगठनका कर्मचारीहरुको मनोबल उच्च गराउनुपर्छ । त्यहाँ पनि पैसासँग जोडिएको हुन्छ । ३० वर्षे, १८ वर्षे, रासन बराबर गर्नेकुरा लगायतका यावत कुरामा सहयोग छ । गृहको नेतृत्व एग्रेसिप रुपमा लागेको छ । तर अरु पक्षबाट त्यो किसिमको वातावरण सीमा भएर पनि होला पूरा हुन सकेको छैन् । अहिलेको उपयुक्त वातावरण छ ।’ 

नेपाल प्रहरीले चालु आर्थिक वर्ष २०७९–८० को गत तीन महिनामा (चैत्र १५ देखि असार १५ सम्म) तुलना गर्दा गत आ.व. २०७८–७९ को भन्दा चालु आर्थिक वर्षका तीन महिनामा ११.१५ प्रतिशत बढी पक्राउ परेको र ११.२२ प्रतिशत दर्ता बढेको बताएको छ । चालु गत तीन महिनामा तीन हजार ५६२ जना फरार अपराधी पक्राउ परेका छन् । 

प्रहरीका अनुसार चैत्र १५ देखि असार १५ सम्म गाँजा ६ हजार ९६१.६१ केजी गाँजा, १७९ केजी चरेश, ४.२५ केजी हेरोईन र ४.९८ केजी अफिम बरामद भएको छ । लागुऔषध ब्युरोद्वारा सञ्चालिन विशेष अपरेशनमा रात्रि क्लव, मनोरञ्जन गृह तथा ट्रान्स पार्टीहरुमा प्रयोग हुने एलएसडी १० हजार १३१ पिससहित ५ जना विदेशी, ७ जना नेपाली समेत १२ जना चालु आर्थिक वर्षको चैत्र १५ देखि असार १५ गतेसम्म पक्राउ गरेको छ । 

नक्कली भूटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण, विद्युतीय सट्टा बाजी, सहकारी ठगी लगायतका प्रकरणको कारबाही अघि बढेको प्रहरीले जनाएको छ । तीन महिनाभित्र छ हजार ४२० सवारी दुर्घटना, ५८१ मृत्यु, गम्भीर घाईते एक हजार ६२७, साधारण घाईते छ हजार ७२१, कारबाही सात लाख ३६ हजार ४७० र राजश्व संकलन ५६ करोड ४६ लाख ५४ हजार दुई सय भएको छ । 

अवैध सामान बरामद, चोरी पैठारी नियन्त्रण, भन्सार चोरी निकासी, अवैध मुद्रा र हुण्डी बरामद जस्ता विभिन्न माध्यमबाट एक अर्ब ५९ करोड ६२ लाख ८२ हजार १७७ रुपियाँ राजश्व संकलन भएको छ । विपद् व्यवस्थापनका लागि तत्काल परिचालन हुनसक्ने गरी उपलब्ध उद्धार सामग्रीहरुसहित १० हजार ८५ जना प्रहरी २४ सै घण्टा उपलब्ध गराइएको बताएको छ । 

Advertisement

Advertisement