हात्ती आक्रमणबाट घाइते किशोरीको उपचारमा आर्थिक कठिनाइ
File Photo

Advertisement

झापा । हात्तीको हिंस्रक आक्रमणमा गम्भीर घाइते भएकी अर्जुनधारा नगरपालिका–३ खुदुनाबारीकी १३ वर्षीया इक्सा लिम्बुको उपचारमा आर्थिक अभाव भएको छ ।     
     
छिमेकी आफन्तको घरमा चार दिनअघि रातको ३ बजेतिर उहाँ हात्तीको आक्रमणमा घाइते हुनुभएको थियो । हाल उनको विर्तामोडस्थित बिएन्डसी हस्पिटलको सघन उपचार कक्षमा उपचार भइरहेको छ । लिम्बुको उपचारमा रु. छ लाखदेखि आठ लाखसम्म खर्च लाग्ने प्रारम्भिक अनुमान छ ।     
     
हस्पिटलका जनसम्पर्क अधिकृत प्रमिस गिरीका अनुसार घाइते इक्साको कम्मरमा हात्तीको दाह्राले घोचेकाले गहिरो प्वाल छ भने देब्रे कान चुँडिएको छ । स्वास्थ्य परीक्षण प्रतिवेदनका अनुसार उनको फोक्सोमा पानी जम्न थालिसकेको छ भने छातीको एउटा करङ भाँचिएको, हातको पाता खुस्किएको र हड्डी चोइटिएको गिरीले जानकारी दिए ।     
     
“चिकित्सकले तत्काल तीन शल्यक्रिया गर्नुपर्ने सुझाव दिनुभएको थियो”, गिरीले भने, “दुई शल्यक्रिया भइसकेको छ, पेटबाट अत्यधिक रक्तश्राव भइरहेका कारण अर्को शल्यक्रिया आइतबार मात्र गरिने भएको छ ।”     
     
स्थानीय खगेन्द्र लिङ्देनका अनुसार खुदुनाबारीको जनता माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत इक्साका बुवा पहलमान लिम्बुको यसअघि नै निधन भइसकेको छ भने आमाले दोस्रो विवाह गरेर गएको हुँदा हाल उनी ९४ वर्षीया हजुरआमाको संरक्षणमा बस्दै आएकी छन् ।     
     
लिङदेनले भने, “घरको आर्थिक अवस्था दयनीय छ  । घाइतेको अवस्था गम्भीर रहेका कारण उपचारमा आर्थिक अभाव तगारो बन्ला कि भन्ने देखिएको छ, त्यसैकारण स्थानीय युवा भाइहरुले आर्थिक सहयोग अभियान चलाइ रहनुभएको छ ।”     
     
अस्पतालमा औषधिसहित हालसम्ममा रु चार लाख खर्च भइसकेको बताइएको छ । नगरपालिकाले घाइतेको उपचारमा रु ४० हजार सहयोग प्रदान गर्ने निर्णय गरेको वडा नं ३ का वडाध्यक्ष सीताराम भट्टराईले जानकारी दिए ।     
     
नगरपालिकाको उत्तरी जङ्गल आसपासको ग्रामीण क्षेत्र मानव–हात्ती द्वन्द्वबाट अत्यधिक प्रभावित मानिन्छ । जुकेखाडी, दहिझोडालगायतका सामुदायिक वन क्षेत्र नजिक रहेका कारण गाउँमा बर्सेनि हात्तीको आक्रमणमा जनधनको क्षति हुने गरेको छ ।     
     
घाइते इक्साका ठूलोबुवा धनबहादुर लिम्बुका अनुसार घटना भएको राति छिमेकी भाञ्जेदाइको घरमा भाउजु र सानो नानी मात्र रहेका कारण साथी बस्नका लागि इक्सा गएकी थिइन् । राति सुतिरहेकै अवस्थामा हात्तीले घर भत्काएर इक्सालाई झम्टेको थियो । हात्तीले सुँढ प्रयोग गरेर इक्साको कान लुछ्नुका साथै दाह्रा धसेर कम्मरमा प्वाल पारेको थियो । उक्त अवस्थामा इक्साकी भाउजु र सानी बच्चीले भागेर ज्यान जोगाएका थिए ।     
     
युथ अफ खुदुनाबारी नामक सामाजिक संस्थाले सामाजिक सञ्जालमार्फत इक्साको उपचारका लागि आर्थिक सहयोग अभियान सञ्चालन गरिरहेको संस्थाका अध्यक्ष मनोज सिटौलाले बताए ।     
     
“हात्तीको आक्रमण र चोटको अवस्था हेर्दा इक्साको ज्यान धन्न बचेछ भन्नुपर्छ”, सिटौलाले भने, “आमाबुवा नभएकी इक्साको उपचारमा आर्थिक अभाव भएपछि हाम्रो संस्थाले सहयोगका लागि अपिल गरेको हो ।”

Advertisement

Advertisement

Advertisement