साउनको पहिलो सोमबार देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड

Advertisement

काठमाडौं । सौरमासअनुसार साउनको पहिलो सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ ।

साउने सोमबारका लागि आज बिहान ४ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका भक्तजनका लागि खुला गरिएको थियो । बिहान ३ बजेदेखि नै भक्तजनले पशुपतिनाथ मन्दिरमा पूजा, आराधना एवं दर्शन सुरु गरेका पशुपति क्षेत्र विकास कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले जानकारी दिए ।  

Advertisement

उनका अनुसार पशुपतिनाथ मन्दिरमा विशेषगरी साउनको सोमबारको व्रत बसेका महिला भक्तजनको उपस्थिति बाक्लो छ । हरियो र रातो पहिरनमा सजिएका महिला भक्तजनले पशुपति क्षेत्र ढाकेका देखिन्छन् । विभिन्न धार्मिक समूहले साउने सोमबारका अवसरमा पशुपति क्षेत्रमा निःशुल्क भोजन, तथा पानी वितरण गरिरहेका छन् ।

पशुपति क्षेत्रमा सुरक्षा, स्वयंसेवक परिचालन, दर्शन व्यवस्थापन, स्वास्थ्य शिविर, खानेपानीलगायत उचित व्यवस्था गरिएको कोषले जनाएको छ । “जुन ढोकाबाट दर्शनार्थी प्रवेश गर्छन् । सोही ढोकाबाट बाहिर निस्कने व्यवस्था मिलाएका छौँ”, पराजुलीले भने । उनका अनुसार प्रहरी वृत्त गौशालाको नेतृत्वमा जनपद, सशस्त्र प्रहरीले पशुपति क्षेत्रमा सुरक्षा दिएका छन् । महाशिवरात्रि र तीज पर्वमा जस्तै दर्शन तथा सुरक्षाको व्यवस्थापन गरिएको कोषले जनाएको छ । 

“साउनको सोमबार रू सात हजार पाँच सयभन्दा कमको विशेष पूजा गराइएको छैन भने वासुकीनाथको मन्दिरमा रू तीन हजार एक सयभन्दा कमको विशेष पूजा गराइएको छैन”, पराजुलीले भने । दुवै मन्दिरमा एक सय ८१ देखि दुई सय ५१ जनासम्मले विशेष पूजा गर्ने गरी व्यवस्था मिलाइएको कोषले जनाएको छ ।

साउने सोमबारका अवसरमा स्काउट र स्थानीय क्लबले पनि स्वयंसेवक खटाउने तयारी गरेका छन् । साउनको सोमबार पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लाग्ने गर्दछ । साउन महिना र सोमबार भगवान शिवजीको महिना र बार भएकाले पनि यस अवसरमा धेरै भक्तजनको भीड लाग्ने गरेको जनाइएको छ । 

आज पशुपतिनाथ मन्दिरमा पूर्वउपसभामुख चित्रलेखा यादव, नेपाल प्रहरी श्रीमती सङ्घका अध्यक्ष लक्ष्मी कुँवर, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, उनकी पत्नी गायत्री नेपाललगायतले पशुपतिनाथ मन्दिरमा दर्शन गरिसकेको कोषले जनाएको छ । यसैगरी भारतका लोक सेवा मन्त्री देवेन्द्रसिंह भोलेशले पनि आज पशुपतिनाथ मन्दिरमा पूजा, आराधना गरेका छन् । 

सौरमासअनुसार आजको सोमबार शुद्ध मानिने भएकाले सुन्दरीजलबाट शुद्ध जल ल्याई पशुपतिनाथलाई अर्पण गर्ने भक्तजनको लर्को लागेको छ । भगवान् शिवले शुद्ध जल रुचाउने भएकाले वाग्मती शिरो भाग सुन्दरीजलबाट शुद्ध जल ल्याएर पशुपतिनाथमा चढाउने भक्तजनको भीड लागेको हो ।

साउन २ गतेदेखि अधिकमास लाग्ने भएकाले अर्को सोमबार व्रत गर्नु हुने वा नहुनेमा धर्मशास्त्रीबीच मतान्तर देखिएको छ । कति भक्तजनले भने चान्द्रमासअनुसारको पहिलो सोमबार अर्थात् गत सोमबारदेखि नै व्रत सुरु गरेका छन् । सौरमासअनुसार यो वर्षको साउनमा पाँच वटा सोमबार परेको छ । यसैगरी राजधानीका गोकर्णेश्वर, वाणेश्वर, नागेश्वर, डोलेश्वरलगायत देशभरमा शिवालयमा भक्तजनको भीड लागेको छ ।

सोमबारे औँशी मनाइयो
यसैबीच, सोमबार औँशी परेका दिन बिहान नबोली स्नान गरी मनाइने सोमबारे औँशी आज बिहान मौन स्नान गरी मनाइएको छ ।

सोमबार औँशी परेका दिन बिहान नबोली स्नान गर्ने वैदिक सनातन धर्मावलम्बीको प्राचीनकालदेखिको परम्परा रही आएको छ । श्रावण कृष्ण औँशी आज सोमबार परेको हो । सोमबार औँशी परेका दिन बिहान उठेर नबोलेर स्नान गरे मनोकाङ्क्षा पूरा हुने शास्त्रीय मान्यता छ ।  धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराई वर्षमा दुईदेखि तीन पटकसम्म सोमबारे औँशी पर्ने गरेको बताए ।   

सोमबारे औँशी परेका दिन बिहान नबोली स्नान गरेमा दाम्पत्य जीवन सुखमय हुने र अक्षय फल प्राप्त हुने विषय विभिन्न ग्रन्थमा उल्लेख गरिएको पनि उनले बताए । औँशी तिथि श्राद्ध, तर्पणका लागि पनि महत्वपूर्ण मानिन्छ । सोमबार औँशी परेका दिन माता, पिता हुने नहुने सबैले बिहान स्नान गर्नु शास्त्रीयरुपमा उचित रहेको जनाइएको छ । प्रत्येक महिनामा आउने औँशीलाई पनि विशेष पर्वका रुपमा मनाउने वैदिक सनातनी परम्परा रहिआएको छ ।

माता, पिता नहुनेले भने औँशी पर्वका दिन श्राद्ध, तर्पण, सिदा दानलगायत गरी मनाउँछन् । यसका लागि पनि सोमबार परेको औँशी विशेषरुपमा मानिने गरेको धर्मशास्त्रविद् भट्टराईले बताउनुभयो । यस अवसरमा विभिन्न तीर्थमा स्नान गर्नेको भीड लागेको जनाइएको छ । रासस

Advertisement

Advertisement