काठमाडौं महानगरले सार्वजनिक जग्गामा बनेको भद्रकुमारी घले सेवा सदनको भवन भत्काइदियो

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाले भद्रकुमारी घले सेवा सदनको भवन भत्काउन सुरु गरेको छ । महानगरपालिकाले बुधबार बिहानबाट अनधिकृत रुपमा बनाइएको संरचना भत्काउन सुरु गरेको हो । 

अनाथ, असहाय, अशक्त बालबालिका, महिला, ज्येष्ठ नागरिकहरुका लागि भन्दै बनाइएको सेवा सदनको भवन अनधिकृतरुपमा निर्माण गरिएको महानगरको भनाई छ । सार्वजनिक जग्गामा बनाइएको भवन भत्काउनु कानुनी राज्यको कर्तव्य भएकाले भत्काउने काम गरिएको महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए । 

Advertisement

उनले आश्रय लिइरहेका अनाथ, अशक्त बालबालिका तथा ज्येष्ठ नागरिकहरुको पनि महानगरपालिकाले आश्रयको व्यवस्था गर्ने बताए । पाण्डेले भने, ‘यो अनधिकृत संरचना हो । यो सार्वजनिक जग्गा हो । यसमा भएको संरचना भत्काइन्छ । कानुनी व्यवस्था यही हो । कानुनी राज्यमा कानुन अनुसार काम हुन्छ । भावनामा बग्ने छुट हामीलाई छैन ।’

यता, सामाजिक संघ संस्थाहरुले भने समाजसेवाको क्षेत्रमा समर्पित सेवा सदन भत्काउने काम गलत भएको तर्क गरेका छन् । उनीहरुले पूर्वजानकारी समेत नगराई अनाथ, अशक्त र असहाय बालबालिका, महिला, ज्येष्ठ नागरिकहरुलाई आश्रय दिने काम गरिरहेको सेवा सदनको भवन भत्काइएको आरोप लगाएका छन् । 

राउटे लोपोन्मुख सिमान्तकृत उत्थान प्रतिष्ठान नेपालकी अध्यक्ष सत्यदेवी खड्का अधिकारीले जब्बरजस्ती ढंगले सेवा सदनको भवन भत्काउने काम गर्नु गलत भएको बताइन् । उनले भनिन्, ‘जब्बरजस्ती सामान नै उठाउन नदिएर डोजर चलाउनु राम्रो होइन । असहाय, महिला, बालिबालिका, ज्येष्ठ नागरिकहरुको व्यवस्थापनका लागि समय चाहिएको कुरा हामीले राखेका हौं ।’

पञ्चायतकालमा सांसद हुँदै सहायकमन्त्री समेत रहे घलेले सार्वजनिक जग्गामा भवन बनाएर आफ्नो व्यक्तिगत सम्पत्ति समाजसेवाको काममा परिचालन गर्दै आएकी थिइन् । उनले भवन रहेको परिसरलाई पुस्तकालय, बाचनालय, धार्मिक स्थल, स्कुल आदिको रुपमा प्रयोग गर्दै आएकी थिइन् । 

Advertisement

Advertisement