महानगरको प्रतिनिधि नहुँदा सिसडोलवासी र शहरी विकासबीचको वार्ता मिल्न सकेन्

Advertisement

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन स्थलका आन्दोलनरत बासिन्दा र सरकारबीचको बुधबारको वार्ता बिना निष्कर्ष टुंगिएको छ । 

फोहोर र मानिसलाई छुट्टाउनुपर्ने भन्दै आन्दोलन सुरु गरेको फोहोर व्यवस्थापन स्थल (ल्याण्डफिल्ड साइट) क्षेत्रका स्थानीयवासी र शहरी विकास मन्त्रालयबीच आज भएको वार्तामा कुरा मिल्न नसकेको हो । 

Advertisement

नुवाकोटको सिस्डोल, बन्चरेडाँडा क्षेत्रका वासिन्दाले फोहोरका कारण आफूहरुको स्वास्थ्य र जीवनयापनमा गम्भीर असर परेको भन्दै प्रभावित क्षेत्रको जग्गा अधिग्रहण गरी आफूहरुलाई अन्य क्षेत्रमा व्यवस्थापन गर्नुपर्ने आवाज उठाउँदै आएका छन् । जग्गा अधिग्रहण गर्ने कुरा स्थानीय तहको स्रोत साधनले मात्रै नभ्याउने भएकाले काठमाडौं महानगरपालिकासहितका पालिकाहरुले केन्द्रसँग यो समस्याको समाधान खोज्न आग्रह गर्दै आएका थिए । 

फोहोर व्यवस्थापन स्थलका वासिन्दाहरु विगत तीन दिनदेखि आन्दोलनमा छन् । शहरी विकास मन्त्रालयले आज बोलाएको छलफलमा नुवाकोटको ककनी गाउँपालिका अध्यक्ष, वडाध्यक्ष र स्थानीय वासिन्दा सहकधारी थिए । यता मन्त्रालयबाट शहरी विकासमन्त्री सीता गुरुङसहित सहभागी थिए । 

बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै सिस्डोल क्षेत्रका रवीन्द्र बोहोराले सरोकारवाला र सरकारबीच भएको छलफल बिना निस्कर्ष सक्किएको बताए । उनले छलफलमा काठमाडौं महानगरका प्रतिनिधिको सहभागिता नभएकाले छलफल निष्कर्षमा पुग्न नसकेको बताए । 

काठमाडौं महानगरपालिकासँग छलफल गरी निचोडमा पुग्ने कुरा भएको बोहोराको भनाई छ । मन्त्री गुरुङले भने काठमाडौं महानगरपालिकालाई नबोलाइकन फोहोर प्रभावित क्षेत्रका प्रतिनिधिहरुलाई मात्रै बोलाएर छलफल गर्न वार्ता लम्बिन पुगेको हो । बैठकमा स्थानीयले फोहोरको गाडीहरु रोक्किरहेको र आफूहरुको माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने बताएका थिए । 

बोहोराले ल्याण्डफिल्ड साइटबाट एक किलोमिटरसम्म झिँगाहरु फैलिएकाले स्थानीयहरुलाई बस्न अफ्ठ्यारो भएकाले तत्काल झिँगा नियन्त्रण गर्ने र फोहोर बिसर्जन गरेपछि माटोले क्यापिङ गर्ने काम नभएकाले टाढासम्म दुर्गन्ध फैलिएको भन्दै झिँगा नियन्त्रण र माटो क्यापिङ लागि महानगरसँग बसेर निचोडमा पुग्ने बताए । 

उनले क्यापिङको लागि माटोको समस्या आएकाले विगतमा १७ सय रोपनी अधिग्रहण भएको जग्गाको सिमाङ्कन हटाएकाले त्यसलाई पुनःसिमाङकन गरेर माटो ल्याउने स्थान महानगरलाई उपलब्ध गराउने, क्यापिङ भएपछि धेरै कुराहरुको निराकरण हुने बताए । बोहोराले फोहोर मान्छेसँगै बस्ने अवस्था नभएकाले अतिप्रभावित क्षेत्रका स्थानीयवासीहरुलाई मुआब्जा दिएर स्थानान्तरण गर्न इआईए गर्न भोलिदेखि नै प्राविधिक खटाउने बताए । 

ककनी गाउँपालिका वडा न.३ वडा अध्यक्ष धनराज बजगाईंले बैठकमा कुनै निस्कर्ष निस्कन नसकेको बताए । उनले आईतवार काठमाडौं महानगरपालिका लगायत १७ वटा स्थानीय तहहरुसँग छलफल गर्ने तयारी रहेकाले उक्त बैठकपछि मात्रै फोहोरमैला व्यवस्थापन कसरी गर्ने निस्कर्षमा पुग्ने बताए । 

बजगाईंले तत्कालका लागि अव्यवस्थित रुपमा फालिएको फोहोरलाई तत्काल व्यवस्थापन गर्ने मन्त्रालयले प्रतिवद्धता जनाएको बताए । उनले झिँगा नियन्त्रण गर्न सरकारले पहल गर्ने बताएको जानकारी दिए । बजगाईंले वातावरण प्रभाव मूल्याङ्कनको लागि नास्टका वैज्ञानिक डा. भोजराज पन्तको अध्यक्षतामा बिहीवारदेखि फिल्डमा जाने सहमति भएको बताए । उनले अव्यस्थित रुपमा फालिएको फोहोर व्यवस्थापन नगरेसम्म काठमाडौं उपत्यकाको फोहोर ल्याण्डफिल्ड साइटमा जान नदिने बताए । 

Advertisement

Advertisement