नेपाली महिला फुटबललाई हेर्ने दृष्टिकोण बदल्ने गरी खेल्नेछुः सावित्रा भण्डारी

Advertisement

काठमाडौं । व्यवसायिक फुटबल खेल्न इजरायल जान लागेकी नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारीलाई बिदाइ गरिएको छ । बुधवार युवा तथा खेलकुद मन्त्रालयमा एक कार्यक्रम आयोजना गरी उनलाई बिदाइ गरियो । 

भण्डारी इजरायलको क्लव हापोएल रानानाबाट युरोपमा लिग खेल्दै छिन् । बिदाइ कार्यक्रममा बोल्दै नेपालका लागि इजरायली राजदूत हानन गोदारले इजरायली क्लवमा नेपाली खेलाडी भित्राउनु ऐतिहासिक क्षण भएको र सावित्राको खेल हेर्न आतुर रहेको प्रतिक्रिया दिए । उनले खेलकुदले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरे । 

Advertisement

गोदारले भने, ‘म धेरै नै खुशी छु । किनभने ऐतिहासिक क्षण छ । हामी सबै युरोप लिगमा नेपाली खेलाडी सावित्रा भण्डारीले खेलेको हेर्न आतुर छौँ । हाम्रो देश र दुतावास उहाँको स्वागतका लागि तयार छ । हामीले हस्ताक्षर गरेका छाँै, अब उहाँले खेलेको खेल हेर्न बाँकी छ, यसले दुई देशको सम्बन्ध थप बिस्तार हुनेछ ।’ 

बिदाइ कार्यक्रममा भण्डारीले यति छोटो समयमा कल्पना नगरेको सम्मान पाएको बताइन । उनले एशियाबाट युरोपमा लिग खेल्न जाँदै गर्दा आफूसँग चुनौति भए पनि त्यसलाई स्वीकार्न तयार रहेको बताइन् । भण्डारीले आफूले दक्षिण एशियामा आफूलाई प्रमाणित गरिसकेको र युरोपमा हुने लिगमा पनि अन्तिमसम्म नै प्रमाणित गर्न लागिपर्ने बताइन् । 

उनले आफ्नो यो यात्रा भावी पुस्ताका लागि र महिला फुटबललाई हेर्ने दृष्टिकोण बददल्न आवश्यक रहेको बताइन् । भण्डारीले भनिन्, ‘एशियाबाट युरोप लिगमा खेल्दैछु । मेरा लागि चुनौति छ । तर म सहजै स्वीकार्न तयार छु । जसरी मैले दक्षिण एशियामा प्रमाणित गरेकी छु । यो मेरो लागि महत्वपूर्ण हुनेछ । यो इक्जामको लागि मेरो पहिलो चरण हो । फाइनल इक्जामसम्म आफूलाई तयार राख्नेछु । आम नेपाली महिला फ्यान्स, महिला फुटबललाई हेर्ने दृष्टिकोण भोलिका दिनमा फरक बनाउने प्रयास गर्नेछु । आउने पुस्ताका लागि मैले एउटा बाटो बनाउनका लागि पहिलो चरणको ढोका मैले खोल्दैछु । फुटबल खेलेर नै केही गर्न सकिन्छ भन्ने वातारवण बनाउनेछु । देश र फ्यान्सको लागि धेरै गर्न बाँकी छ, त्यो गर्ने नै छु ।’ 

Advertisement

Advertisement