नेपालमा उद्यमशीलता मर्योः पाण्डे

Advertisement

काठमाडौं । युवा उद्यमी प्रवलजंग पाण्डेले नेपालमा उद्यमशीलता मर्यो भन्दै टिप्पणी गरेका छन् । उनले फेसबुकमा लेख्दै निजी क्षेत्र अहिले कमजोर बन्न पुगेको तर आज उद्योगहरु धमाधम बन्द हुने अवस्थामा पुगेको बताएका छन् । 

सिमेन्ट, क्लिङ्कर, स्टिलहरु बन्द हुने अवस्थामा पुगेको, हवाई उद्योगहरु पनि धरासायी बन्दै गएको, होटल व्यवसायीको अवस्था पनि राम्रो नरहेको, अटोमोवाइल व्यवसायीको अवस्था दयनीय रहेको, साना उद्योगीहरु विदेश पलायन भइरहेको, विद्यार्थीहरु कक्षा १० पछि नै बाहिर पढ्न जाने क्रम बढ्दा कलेजहरुले विद्यार्थी पाउन छोडेको निराशाजनक अवस्थाहरु प्रस्तुत गर्दै उनले तर सरकारको नीति निर्माण तहमा विदेशीहरु हावी हुँदै गएकोमा असन्तुष्टि जनाएका छन् । 

Advertisement

सरकार र निजी क्षेत्रबीच सहीरुपमा समन्वय हुन सके मात्रै पूरानो लयमा मुलुक फर्किनसक्ने पाण्डेको विश्वास छ । उनले निजी क्षेत्रमैत्री सरकार अहिलेको आवश्यकता भएको बताएका छन् । पाण्डेको टिप्पणी यस्तो छः 

उद्यमशीलता मरेको देश
केही बर्ष अगाडीसम्मको कुरा हो, सबैजसो व्यवसायीमा एक प्रकारको जोश र जागर थियो ।  केही गरौं भन्ने भावना थियो । फलस्वरुप नेपाल सिमेन्टमा आत्मनिर्भर भयो ।  निजी विमान कम्पनीहरु सन्चालनमा आए । सयौं औषधि कारखानाहरु स्थापना भए । राजधानीलगायत देशको प्रमुख शहरहरुमा तारे होटलहरु स्थापना भए । यातायात क्षेत्रमा निजी क्षेत्रको ठूलो लगानी भयो । म्यानेजमेन्टको कम्जोरी र राजनीतिक हस्तक्षेपले सरकारी स्वामित्वका कम्पनीहरु कोही निजीकरण भए । कोही चल्न नसक्ने भए । तर निजी क्षेत्र फस्टाइरह्यो । सरकार र निजी क्षेत्रको समन्वय बलियो थियो । निजी क्षेत्र बलियो थियो । सरकारले निजी क्षेत्रको कुरा मनन गर्थ्यो । सरकारको राजश्व पनि हरेक बर्ष वृद्धि भइरह्यो । साधारण खर्च धान्न आन्तरिक ऋण उठाउनुपर्ने अवस्था थिएन् । हामीले बलियो अर्थमन्त्रीहरु पाएका थियौ । 

विपरित आज उद्योगहरु धमाधम बन्द हुने स्थितिमा छन् । सिमेन्टका ग्रिन्डिङ उद्योगहरु प्रायः बन्द भइसकेका छन् । क्लिङ्कर उद्योगहरु ४० प्रतिशत क्यापासिटीमा सन्चालन भई बैंंकको ऋण तिर्ननसक्ने अवस्थामा छन् । स्टिल उद्योगको हालत उस्तै छ ।  केही होटललाई छोडेर अधिकाश होटल व्यवसायीको हालत उस्तै छ । एकाधबाहेक सबै हवाई कम्पनीको आर्थिक अवस्था राम्रो छैन् । अटोमोवाइल क्षेत्रको हालत दयनीय छ । उद्योग मात्र हैन्, व्यवसाय गर्नेको अवस्था पनि उस्तै रह्यो । साना व्यवसायीहरु व्यवसाय छोडेर धमाधम विदेश पलायन हुन थाले । विद्यार्थीहरु कक्षा १० पछि नै विदेश पलायन हुन थाले । कलेजले विद्यार्थी पाउन छाडे । निजी क्षेत्र पनि दिनप्रतिदिन कमजोर हुँदै गयो । सरकारले निजी क्षेत्रको कुरा सुन्न छाड्यो ।  नीति निर्माणमा विदेशी निकायहरु हावी हुँदै गयो ।

के हामी पूरानो लयमा फर्कन सक्दैनौ र ?? अवश्य सक्छौं । यसको लागि सरकार र निजी क्षेत्रको सही समन्वय हुनुपर्यो । सरकारी साधारण खर्च कम गरी विकास खर्च बढाउनुपर्यो । निजी क्षेत्रले अन्धाधुन्द लगानी नगरी सम्भावना भएको क्षेत्र पहिचान गरी लगानी विस्तार गर्नुपर्यो । व्यवसायिक कृषिमा सरकार र निजी क्षेत्रको बलियो सहकार्य हुनुपर्यो ।  पर्यटन प्रवर्धनमा सरकार र निजी क्षेत्र मिलेर आगाडी बढनुपर्यो । साना तथा मझौला प्रकृतिका उद्योगहरुको प्रवर्धनमा निजी क्षेत्र र सरकारको सहकार्य हुनुपर्यो,  जसको लागि बलियो निजी क्षेत्र र निजी क्षेत्रमैत्री सरकार अहिलेको आवश्यकता हो ।

Advertisement

Advertisement