काठमाडौं । नबिल बैंक आठौं पटक उत्कृष्ट करदाताको रुपमा सम्मानित भएको छ । आर्थिक बर्ष २०७९–८० को वित्तीय विवरणअनुसार नविल यस बर्ष पनि सबैभन्दा धेरै आयकर तिरेर उत्कृष्ट करदाताको रुपमा सम्मानित भएको हो ।
सरकारले राष्ट्रिय कर दिवसको अवसरमा क्षेत्रगत रूपमा धेरै कर बुझाउने करदाताहरूलाई सम्मान गर्दै आएकोमा नबिल बैंक बैंक, वित्तीय संस्था र बीमा कारोबार क्षेत्रकातर्फ उत्कृष्ट करदाता बनेको हो । उत्कृष्ट करदाताहरुलाई कर दिवसको कार्यक्रममा शनिबार बिहान सम्मान गरिएको थियो ।
आन्तरिक राजश्व विभागले आयोजना गरेको कार्यक्रममा बैंकको तर्फबाट वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले सम्मानपत्र लिए । मूल्य अभिवृद्धि कर (भ्याट)को सुरुवात गरेको दिनलाई सरकारले हरेक बर्ष राष्ट्रिय कर दिवसको रुपमा मनाउने गरेको छ ।
यसअघि नविलले आर्थिक वर्ष २०६७–६८, २०७०–७१, २०७१–७२, २०७३–७४, २०७५–७६, २०७६–७७ र २०७७–७८ को विवरणको आधारमा पनि नबिलले सबैभन्दा बढी कर तिर्ने बैंकको सम्मान पाएको थियो ।