पश्चिमाको समर्थनमा सत्ता चलाएको भन्दै नाइजरको सेनाद्धारा राष्ट्रपतिलाई अपदस्त

Advertisement

काठमाडौं । पश्चिमाको समर्थनमा सत्ता चलाएको भन्दै पश्चिम अफ्रिकी राष्ट्र नाइजरको सेनाले राष्ट्रपतिलाई अपदस्थ गरेको छ । सेनाको कदमलाई समर्थन गर्दै जनता सडकमा उत्रिएका छन् । 

खुशीयाली मनाउन सडकमा उत्रिएका जनताले अपदस्त राष्ट्रपति मोहम्मद बाजुमको पार्टी कार्यालयमा आक्रमण पनि गरेका छन् । सेनाको कदमलाई संयुक्त राष्ट्र संघसहित पश्चिमा मुलुकहरुले विरोध जनाएका छन् । 

Advertisement

दुई वर्षअघि निर्वाचित भएका ६४ वर्षीय बाजुम पश्चिम अफ्रिकामा इस्लामिक लडाकुहरूविरुद्ध जारी लडाइँमा पश्चिमी मुलुकलाई सहयोग गर्ने प्रमुख पात्र हुन् । पश्चिमाहरुको समर्थनमा मुलुकमा हिंसालाई बढावा दिने काम गरेको भन्दै उनको विरोध भइरहेको थियो । 

यूरेनिअमको खानी रहेको नाइजरमा अमेरिका र फ्रान्सले सैन्य शिविरहरू राखेर बहुमूल्य प्राकृतिक सम्पदाहरु उत्खनन् गरिरहेका छन् । नाइजरको पछिल्लो घटनाको दुवै देशले कडा आपत्ति पनि जनाएका छन् । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले बाजुमलाई वाशिङ्टनले समर्थन जारी राख्ने बताएका छन् । 

सेनाको कदमपछि यता राष्ट्रसङ्घले नाइजरमा आफ्नो मानवीय सहायता कार्य स्थगन गरेको घोषणा गरेको छ ।  राष्ट्र संघले नाइजरमा लाखौं मानिसलाई मानवीय सहायता उपलबध गराउँदै आएको थियो । राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले बाजुमलाई बिनासर्त रिहा गर्न सेनालाई आग्रह गरेका छन् । 

तर नाइजरका सेनाप्रमुखले सशस्त्र बलभित्र झडपको अवस्था सिर्जना नहोस् भन्ने उद्देश्यले आफूले सत्तापलटको समर्थन गरेको बताउँदै बाजुमलाई रिहा नगर्ने संकेत गरेका छन् । सेनाले राष्ट्रपतिलाई अपदस्त गरेपछि नाइजरको राष्ट्रप्रमुख को हो ? अझै पनि टुंगो लाग्न सकेको छैन् । नाइजरका सरकारी सञ्चार माध्यमहरुले भने देशभक्ति र एकताका गीत र सन्देशहरु प्रवाह गरिरहेका छन् । एजेन्सी

Advertisement

Advertisement