प्रभाकर राणा इन्डोमेन्ट फण्डद्धारा कैदीबन्दीका बालबच्चाका लागि रु. एक करोड सहयोग

Advertisement

काठमाडौं । स्वर्गीय व्यवसायी प्रभाकरशम्शेर राणाको स्मृतिमा निर्माण गरिएको ‘द प्रभाकर एसजेभी राणा इण्डोमेन्ट फण्डले कैदीबन्दीका बालबच्चाको लागि सुरक्षित आवास सञ्चालन गर्न पुष्पा बस्नेतलाई एक करोड रुपियाँ सहयोग गरेको छ । 

पूर्बबैंकर अनिल शाहका अनुसार शुक्रबार उक्त रकमको चेक सीएनएन हिरो २०१२ तथा सीएनएन सुपर हिरो २०१६ की विजेता बस्नेतलाई हस्तान्तरण गरिएको हो । बस्नेत प्रारम्भिक बाल विकास केन्द्रकी संस्थापक हुन् । अभिभावक जेलमा रहेका बालबालिका तथा अपराधका कारण जेलमा रहेका अभिभावकसँगै रहेका बालबालिकाका लागि पुतली घर सञ्चालन गर्न यो रकम खर्च गरिने छ । 

Advertisement

बस्नेतले यो सहयोग यस्ता बालबालिको पोषण, स्वास्थ्य र शिक्षामा खर्च गरिने बताइन् । यस्ता बालबालिकालाई राम्रो वातावरणमा माया र स्याहारका साथ हुर्काउन सकियो भने भोलि आउने चुनौतिको सामना गर्नसक्ने उनले बताइन् । 

प्रभाकरशम्शेर राणाकी छोरी माया राणाले आफ्नो बाबुको स्मृतिमा यो कोष खडा गरेकी हुन् । पर्यटन व्यवसायी प्रभाकरशम्शेर राणा सोल्टी होटलका तत्कालिन अध्यक्ष पनि हुन् । उनको जलविद्युत, अटोमोवाइल क्षेत्रमा पनि लगानी थियो । राणाले नै भोटेकोशी जलविद्युत आयोजना, टाटा मोटर्स, सोल्टी आदि क्षेत्रमा विदेशी लगानी भित्राउन मुख्य भूमिका खेलेका थिए भने ठूलो करदाताको रुपमा योगदान पनि दिँदै आएका थिए । 
 

Advertisement

Advertisement