भृकुटीमण्डपमा भदौको दोस्रो साता उर्जा र विद्युतसँग सम्बन्धित अन्तर्राष्ट्रिय प्रदर्शनी हुने

Advertisement

काठमाडौं । भदौ १५ देखि १७ गतेसम्म भृकुटीमण्डप प्रदर्शनी हलमा ‘नेपाल इलेक्ट्रिक, इलेक्ट्रोनिक्स, पावर, लाइट तथा कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अपलायन्सेस सम्बन्धी अन्तर्राष्ट्रिय प्रदर्शनी’ हुने भएको छ । 

विद्युतीय, विद्युतीय उपकरण, र उर्जासँग सम्बन्धित प्रदर्शनी यो प्रदर्शनीको दोस्रो संस्करण हो । नेपालको पहिलो एकमात्र  बृहत् अन्तर्राष्ट्रिय उर्जा र विद्युतसँग सम्बन्धित प्रदर्शनी मिडिया स्पेस सोलुसन्स् (एम.एस.एस.) का साथै एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया प्रा. लि. (इ.टि.एस.आइ.पि.एल.) तथा फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स् प्रा.लि.को संयोजकत्वमा आयोजना हुन लागेको हो । 

Advertisement

नेपाल इलेक्ट्रिक इलेक्ट्रोनीक्स, पावर, लाइट तथा कन्जुमर इलेक्ट्रोनीक्स एंड होम अपलायनसेस प्रदर्शनीले आधारभूत रूपमा तीन सोचहरूको समायोजन गर्न खोजेको छ – प्रदर्शनी, सम्मेलन र साझेदारी । यी तीन सोचहरूबाट नेपालमा विद्युत, विद्युतीय उपकरण, घरबारमा प्रयोग हुने विद्युतीय सामग्रीहरू तथा उर्जासँग आबद्ध विभिन्न उद्योगहरूले आपसी साझेदारी गर्ने, सम्बन्ध बढाउने तथा व्यवसायका अवसरहरू निर्माण गर्ने केन्द्रको भूमिका निर्वाह गर्दछ । यी उद्योग नेपालमा सबैभन्दा बढी माग भएका क्षेत्रहरूमध्ये एक हुन् र दक्षिण एसियाली क्षेत्रभित्र द्रूत रूपमा वृद्धि भइरहेका पनि छन् ।

विद्युतीय उपकरणहरूको हकमा नेपालमा घर–घरमा लगभग सबै प्रकारका विद्युतीय उपकरणहरूको प्रयोग हुने गर्दछ । आम नेपाली जनमानसले घरका हरेक कुनामा विद्युतीय उपकरण प्रयोग गर्नै पर्ने हुन्छ ।  साथै हरेक क्षण संसारमा नयाँ–नयाँ विद्युतीय उपकरणहरूको आविष्कार तथा नयाँ र प्रभावकारी प्रयोगहरू पनि ल्याइँदै छन् । यस सिलसिलामा यो प्रदर्शनीले नयाँ प्रविधियुक्त विद्युतीय उपकरणहरू पनि प्रस्तुत गरी नेपाली उपभोक्तालाई नयाँ प्रकारका विद्युतीय उपकरणसँग साक्षात्कार पनि गराउनेछ ।

नेपालको अर्थतन्त्रमा उर्जा र उर्जा क्षेत्रको पनि महत्वपूर्ण भूमिका छ । बायोमास, तेल उत्पादन, कोइला, जलविद्युत र बिजुली नेपालमा उर्जाका प्रमुख स्रोतहरू हुन् । नेपालको विद्युतीकरण दर दक्षिण एसियाली क्षेत्रका अन्य देशको तुलनामा करिब ७६ प्रतिशत छ । नेपाल जलविद्युत, सौर्य, वायु, बायोग्यास र विभिन्न प्रकारका बायोमास उर्जा समावेश गरी नवीकरणीय उर्जाका स्रोतहरूले भरिपूर्ण छ ।

यो अन्तर्राष्ट्रिय प्रदर्शनीमा आगन्तुकहरूलाई प्रवेश निःशुल्क गराइएको छ । साथै विद्युत, विद्युतीय उपकरण र बत्तीसँग सम्बन्धित क्षेत्रहरूमा प्राविधिक सामग्री र ज्ञान साझेदारी निर्माण गर्ने उद्देश्यसहितको सम्मेलनका कार्यक्रमहरू पनि गराइनेछ । 
नेपाल इलेक्ट्रिक इलेक्ट्रोनीक्स पावर लाइट तथा होम अपलायनसेस सम्बन्धी बृहत अन्तर्राष्ट्रिय प्रदर्शनीका लागि दर्ता खुला भइरहेको आयोजकले विज्ञप्ति मार्फत जानकारी गराएको छ । 
 

Advertisement

Advertisement