काठमाडौं । ग्लोबल आइएमई बैंक इतिहासमै पहिलो पटक धेरै कर दाखिला गर्ने वाणिज्य बैंकहरुको सूचिको पहिलो नम्बरमा परेको छ ।
आर्थिक वर्ष २०७९–८० को असार ३१ गते राती १२ बजेसम्म दाखिला भएको करको आधारमा ग्लोबल आईएमई बैंक पहिलो नम्बरमा परेको हो ।
अर्थ मन्त्रालयबाट कर्पोरेट नेपाललाई प्राप्त विवरण अनुसार सो बैंकले गत आवमा पाँच अर्ब ४३ करोड रुपियाँ कर दाखिला गरेको छ । यो कर बैंकले बर्षभरी विभिन्न शीर्षकमा तिरेको सबै करको योग हो ।
पछिल्लो समय जनता बैंक, बैंक अफ काठमाडूलाई भाग्न सफल ग्लोबल आईएमईले गएको आवमा सात अर्ब २५ करोड रुपियाँ खुद नाफा गरेको छ । यो नाफा अघिल्लो वर्षको तुलनामा ४६.२६ प्रतिशतले बढी हो । बैंकले अघिल्लो आव २०७८–७९ मा तीन अर्ब १७ करोड रुपियाँ कर दाखिला गरेको थियो । ग्लोबल आईएमईको सीईओमा अहिले रत्नराज बज्रचार्य छन् ।
यसैगरी, गत आवमा धेरै कर दाखिला गर्ने वाणिज्य बैंकको सुचिमा दोस्रो नम्बरमा नविल बैंक छ । बैंकले गत आवमा चार अर्ब ९८ करोड रुपियाँ कर दाखिला गरेको छ । अघिल्लो आव २०७८–७९ मा तीन अर्ब ३२ करोड रुपियाँ कर दाखिला गरेको नविलले पछिल्लो समयमा नेपाल बंगलादेश (एनबी) बैंकलाई गाभ्न सफल भएको थियो । गत वर्ष नविलले सात अर्ब ५२ करोड रुपियाँ खुद नाफा गरेको छ । हाल नविलको सीईओमा ज्ञानेन्द्र ढुङ्गाना छन् ।
यसैगरी, धेरै कर दाखिला गर्ने तेस्रो नम्बरको बाणिज्य बैंकमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेको छ । यो बैंकले गत आवमा चार अर्ब १९ करोड रुपियाँ कर दाखिला गरेको छ । बैंकले गत वर्ष चार अर्ब २९ करोड रुपियाँ खुद नाफा गरेको छ । गएको असारमा मेगा बैंकलाई गाभेर बलियो बनेको नेपाल इन्भेष्टमेन्ट मेगाको सीईओमा अहिले ज्योतिप्रकाश पाण्डे छन् ।
यस्तै, गत आवमा धेरै कर तिर्ने बाणिज्य बैंकहरुको सुचिको चौथो नम्बरमा पूर्ण सरकारी स्वामित्वको बैंक रहेको छ । राष्ट्रिय वाणिज्य बैंकले गत आवमा तीन अर्ब ७७ करोड रुपियाँ कर दाखिला गरेको छ । उसले अघिल्लो आव २०७८–७९ मा दुई अर्ब ६५ करोड रुपियाँ कर तिरेको थियो। । राष्ट्रिय बाणिज्य बैंकले गत आवमा चार अर्ब ९१ करोड रुपियाँ नाफा गरेको छ । यो बैंकको सीईओमा अहिले किरणकुमार श्रेष्ठ छन् ।
गत आवमा धेरै कर तिर्ने बाणिज्य बैंकहरुको सुचिको पाचौं नम्बरमा एनआइसी एशिया बैंक परेको छ । बैंकले गत आवमा तीन अर्ब ७३ करोड रुपियाँ कर दाखिला गरेर उत्कृष्ट पाँच करदाता बैंकमा पर्न सफल भएको हो । अघिल्लो आव २०७८–७९ मा तीन अर्ब ४१ करोड रुपियाँ कर दाखिला गर्दै वाणिज्य बैंकतर्फ सबैभन्दा धेरै कर तिर्ने एनआईसी एशियाको सीईओमा अहिले रोशन न्यौपाने छन् । यो बैंकले गत आवमा चार अर्ब ६५ करोड रुपियाँ खुद नाफा गरेको छ ।